काठमाण्डौं,तराईबाट काठमाण्डौं जोडने छोटो मार्गको रुपमा रहेको तराई÷मधेश द्रुतमार्ग समयमै सम्पन्न गर्नका लागि थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने संसदीय समितिले निष्कर्ष निकालेको छ ।

द्रुतमार्गको अवलोकन भ्रमणसमेत गरेको राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्नका लागि थप उक्त रकम लाग्ने निष्कर्ष निकालेको हो ।

आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरूसँग छलफलसमेत गर्ने तयारी गरेको छ । उक्त रकमको व्यवस्थापनका लागि सरकारका सरोकारवाला मन्त्रालयहरूसँग छलफल गर्ने तयारी भएको समिति सभापति रामनारायण बिडारीले बताउनुभयो ।

समितिको बिहीवार बसेको बैठकपछि समिति सभापति बिडारीले द्रुतमार्ग सम्पन्न गर्नका लागि हालसम्म खर्च भइसकेको बाहेक थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको र स्रोत सुनिश्चितताका लागि सरकारका सम्बद्ध सरोकारवाला मन्त्रालयहरूसँग छलफल गरिने बताउनु भएको हो ।

फास्टट्र्याकलाई २०८१ सालसम्ममा सम्पन्न गर्ने नेपाल सरकारको नीति र उद्देश्य छ । तर, स्थलगत निरीक्षण गर्दा त्यो २०८१ मा सक्ने कुरामा शंकाहरू उत्पन्न भएको समिति सभापति बिडारीको भनाइ छ । सम्बद्ध मन्त्रालयहरू, खासगरी वन मन्त्रालय, भौतिक तथा पूर्वाधार निर्माण मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालयलगायत मन्त्रालयसहित मन्त्रिपरिषद् सचिवालयका सचिवहरूसँग समितिले छलफल गरेको बिडारी बताउँनुहुन्छ ।

स्रोत सुनिश्चित नहुञ्जेलसम्म ठेक्कापट्टा लगाउने काम र कार्य अगाडि बढाउने काममा अवरोध हुने समितिको निष्कर्ष छ । ‘निर्माणमा देखिएका समस्या समाधान कसरी हुन्छ भनेर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, रक्षासचिव र अर्थ सचिवलाई बोलाएर छलफल गर्ने बैठकले निर्णय ग¥यो,’ बिडारीले थप्नु भयो । उहाँका अनुसार विभिन्न मन्त्रालयबीच समन्वय नभएका कारण काम गर्न ढिलाइ भइरहेको छ । मन्त्रालयहरूबीचमा समन्वय बढाई काम सम्पन्न गराउने विषयमा पनि सम्बद्ध मन्त्रालयहरूसँग छलफल गरी समितिले आगामी दिनमा निर्देशन दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here