पुष्पराज खतिवडा
मनहर्वा,बारा प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोटसहित चार जनालाई नियन्त्रणमा लिएको छ । बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वास्थित सानो बसबरिया र ठूलो बसबरियाबाट प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीद्धारा पक्राउ पर्नेमा बारा कोल्हबी नगरपालिका वडा नम्बर ६ का २५ वर्षीय राजन चौधरी, वडा नम्बर ५ का १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका वडा नम्बर १ का १९ वर्षीय मोहनकुमार साह र भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा ७ का ४० वर्षीय महमद आलम रहेका छन् । तीन जनालाई सानो बसबरिया र एक भारतीय नागरिकलाई ठूलो बसबरियाबाट पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।पक्राउ परेका तीन जनाबाट सात लाख सात हजार नक्कली नोट बरामद गरेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । उनीहरुले प्रयोग गरेको ना३४प ३५१२ र बिआर ०६ ए डब्लु २७५८ नम्बरको दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय नागरिक आलमलाई प्रहरीले बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ ठूलो बसबरियाबाट साइकलमा आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खड्काले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । आलमको साथबाट ६ लाख ९ हजार नक्कली नेपाली नोट बरामद भएको छ ।पक्राउ परेका चार जनामाथि आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

Leave a Reply