वीरगञ्ज,वीरगञ्जका प्रतिष्ठित उद्योगपति तथा उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीका छोरा यश अग्रवाल टेमानी विरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरेको छ ।यशले चलाएको बा ०१–०३३ च २४८१ नम्बरको कारको ठक्करबाट वीरगञ्ज– ३२ निवासी रामबालक सहनीको मृत्यु भएपछि उक्त मुद्दा दर्ता भएको बुझिएको हो ।
गत बुधवार तीव्र गतिमा चलाइएको कारले जेब्रा क्रसिङ पार गर्न लागेका मजदुर सहनीलाई जीतपुर–सिमरा उपमहानगरपालिकाको केराढोका क्षेत्रमा ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सहनीको उपचारका क्रममा वीरगञ्जस्थित नेपाल मेडीसीटी बायोध्या अस्पतालमा मृत्यु भएको थियो ।
मृतकका भाइ नगिना सहनीले शुक्रवार इलाका प्रहरी कार्यालय सिमरामा यश अग्रवालविरुद्ध जाहेरी दर्ता गराउनुभएको हो । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर बस्नेतले सवारी ज्यान मुद्दामा जाहेरी दर्ता भएको पुष्टि गर्दै घटनाको अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कार चालक प्रहरी नियन्त्रणमा छन् र दोषी ठहरिए कानुनअनुसार कारबाही गरिनेछ ।
स्रोतका अनुसार नक्कली चालक खडा गरी घटना ढाकछोप गर्न खोजिएको आरोप पनि लागेको छ । मृतकका भाइ नगिना सहनी र उहाँका साला राजेन्द्र सहनीसँग मुद्दा नचलाउने सर्तमा ९ लाख ५० हजार रुपैयाँ दिने विषयमा मौखिक सहमति भएको दाबी समेत गरिएको छ । पीडित परिवारलाई शव बुझी दाहसंस्कार गर्न उक्त रकम दिने सहमति भएको भनिए पनि यस्तो प्रक्रिया कानुन विपरीत रहेको बताइएको छ ।
मृतक रामबालक सहनीका श्रीमती र २० तथा १८ वर्षका दुई छोरी रहेका छन् । परिवारका एक मात्र कमाउने व्यक्ति सहनी नै भएको मृतककी छोरी लक्ष्मी सहनीले बताउँदै न्याय र कानुनबमोजिम क्षतिपूर्तिको माग गर्नुभएको छ ।
अर्कोतर्फ उद्योग अशोकले दुर्घटना हुँदा आफ्नो छोरा यशले गाडी नचलाएको दाबी गर्दै दुर्घटना पश्चात् जम्मा भएको भीडले कुटपिट गर्ने डरले गाडी चालक कृष्णा यादव फरार भएको बताउदैआउनुभएको छ । सोही कारण प्रहरीले चालकको सट्टा आफ्नो छोरा यशलाई नियन्त्रणमा लिएको हुनसक्ने उहाँको भनाई छ ।अशोकले प्रहरीले कुनै पनि दबाबमा नपरी सत्य–तथ्य छानबिन गरी निष्पक्ष रूपमा अनुसन्धान अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ ।
सौजन्य तस्बिर



















