नरेश गुप्ता
बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सद्स्य दिनेश राईले स्थानीय तहको निर्वाचन चुनौतीपूर्ण रहेको बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा आफ्नो पकड बलियो बनाउनेतर्फ लाग्न जरुरी रहेको उहाँले बताउनुभयो । नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गीय संगठन अनेरास्ववियु जिल्ला कमिटी बारा तथा युवा संघ नेपाल कलैया उपमहानगरपालिका नगर कमिटीको संयुक्त सोमवार आयोजित होली मिलन कार्यक्रमको उद्धाटन गर्दै केन्द्रीय सदस्य राईले यस्तो बताउनु भएको हो ।
स्थानीय तहको चुनावमा प्रतिगामीहरुको चलखेल हुनसक्ने भएकोले त्यसतर्फ पार्टी संगठन बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । होली पर्व असत्यमाथि सत्यको जितको प्रतीकको रुपमा र आपसी सद्भाव भाइचाराको रुपमा पर्वलाई सभ्य र शिष्ट रुपमा मनाउन सबैलाई आग्रह गर्नुभएको थियो ।
होली मिलन कार्यक्रममा बोल्दै पार्टीको केन्द्रीय सदस्य सुन्दर विश्वकर्माले होली पर्व पवित्र सम्बन्ध जोडने माध्यम रहेको बताउनुभयो । रिस, राग र शत्रुतालाई निरुत्साहित गर्दै एकीकृत भएर पर्वलाई मनाउनु पर्ने पनि उहाँले बताउनुभयो । स्थानीय तहको चुनावमा नेकपा एकीकृत समाजवादी पार्टीले समेत स्थानीय तहमा बहुमत ल्याउने उहाँले दाबी गर्नुभयो ।
युवा संघ नेपाल कलैया उपमहानगरपालिका नगर कमिटी अध्यक्ष हरिओम साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृतका केन्द्रीय सदस्य श्रीप्रसाद पासवान, जितेन्द्र तिवारी, अनेरास्ववियुका केन्द्रीय सदस्य ईमरान आलम, संचारकर्मी अजय साह, नेकपा माओवादी केन्द्र कलैया नगर कमिटीका अध्यक्ष मुकेश साह लगायतले होली मिलन समारोह कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।