वीरगञ्ज । मधेसको राजनीतिक नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने विषयमा बहस सुरु भएको छ । पुराना राजनीतिक दल तथा नेताहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै मधेसको नेतृत्व अब युवापुस्ताले लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले मधेसमा युवा नेतृत्वको आवश्यकता र राजनीतिक पुस्तान्तरणको विषयलाई प्राथमिकतामा राख्दै विभिन्न जिल्लामा बहस तथा छलफल कार्यक्रम सञ्चालन गरिरहेको छ । यसै क्रममा प्रतिष्ठानले मंगलबार पर्साको वीरगञ्जमा ‘मधेस स् अबको बाटो, मधेसी राजनीतिको समीक्षा’ विषयक कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सञ्चालक एवं सामाजिक अभियन्ता सञ्जय यादवले मधेसमा विभिन्न राजनीतिक दल र नेताहरू सत्तामा पुगे पनि जनताको जीवनस्तर र सामाजिक अवस्थामा अपेक्षित परिवर्तन आउन नसकेको बताए ।
उनले मधेसका जनताले नयाँ परिवर्तन खोजिरहेको उल्लेख गर्दै त्यसको नेतृत्व युवापुस्ताले गर्नुपर्ने धारणा राखे । पुरानो राजनीतिक सोच र कार्यशैलीबाट अब अघि बढ्न नसकिने भन्दै मधेसलाई नयाँ दृष्टिकोणबाट हेर्ने समय आएको उनको भनाइ थियो ।
अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि मधेसी दल तथा नेताहरूको विश्वसनीयतामाथि प्रश्न उठेको बताए । मधेसका आधारभूत राजनीतिक तथा सामाजिक मुद्दाहरू अझै सम्बोधन हुन नसकेको उल्लेख गर्दै ती मुद्दा पूरा गराउन राज्यलाई दबाब दिने प्रभावकारी रणनीति आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा पूर्वसांसदद्वय प्रह्लाद गिरी र बिक्की यादव, अर्थशास्त्री प्राध्यापक इन्दुशेखर मिश्र, प्रा। डा। हरेराम ठाकुर, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वप्रमुखद्वय ए।के। झा र डा. उमेश चौरसियालगायतले मधेसको वर्तमान राजनीतिक अवस्थाबारे धारणा राखेका थिए ।
वक्ताहरूले पछिल्लो निर्वाचनबाटै जनताले मधेसी दल तथा नेताहरूको कार्यसम्पादनको मूल्यांकन गरिसकेको उल्लेख गर्दै पुरानै राजनीतिक शैलीबाट अघि बढ्न नसकिने बताए ।
मधेसको नेतृत्व नयाँ पुस्ताले सम्हाल्दै राजनीतिक, सामाजिक तथा आर्थिक समस्याको समाधान गर्ने स्पष्ट योजना र कार्यक्रमसहित अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

















