निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरीले युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रमलाई निजगढ नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर कम गरिरहेको बताउनुभएको छ ।
युएनडिपी, युरोपियन युनियन र ब्रिटिस काउन्सिलको सहयोगमा निजगढ ११ रतपुरमा संचालन भइरहेको डकर्मी र बिजुली तालिमको अनुगमनको क्रममा बोल्दै नगर प्रमुख पुरीले बिहीवार सो कुरा बताउनुभएको हो । निजगढको दुर्गम क्षेत्रका युवाहरु पनि स्वरोजगार बनाउने उद्देश्यले रतनपुरमा तालिम संचालन गरिएको पनि उहाँको भनाइ छ ।
रोजगारीको लागि तालिम र सीप अतिआवश्यक भएकोले तालिमबाट लाभ लिन सहभागीहरुसंग नगर प्रमुख पुरीको आग्रह थियो । उहाँले तालिमपछि व्यवसाय गर्न चाहने युवाहरुलाई नगरपालिकाले लगानीको प्रबन्ध गर्न सहजीकरण गरिदिने पनि बताउनुभयो । ‘बैङ्कहरुसंग समन्वय गरेर ऋणको व्यवस्था मिलाइने छ, उहाँले भन्नुभयो, यसको लागि बैङ्किग कारोबार सम्बन्धि ज्ञान प्रदान गर्न तालिम पनि आयोजना हुन्छ ।’
कार्यक्रममा बोल्दै उपप्रमुख थिङ्गले धेरै किसिमका सीप सीक्नुभन्दा कुनै एउटा सीपमा दक्षता हासिल गर्नसके रोजगारी सृजना गर्न सकिने बताउनुभयो । उहाँले पनि स्वरोजगारी सृजना गर्न निजगढ नगरपालिकाले प्राथमिकताका साथ काम गरिहेको पनि जानकारी दिनुभयो ।
बैदेशिक रोजगारीबाट फर्किएका युवाहरु लक्षित गरेर निजगढको रतनपुरमा संचालन भइरहेको इलोक्ट्रिसियन र डकर्मी तालिमको नगर प्रमुख पुरी र उपप्रमुख थिङ्गसहितको टोलीले अनुगमन गरेको हो ।
निजगढ नगरपालिकाको सहकार्यमा युएनडिपी, युरोपियन युनियन र ब्रिटिस काउन्सिलको सहयोगमा निजगढको रतनपुरसहित ४ स्थानमा १ सय युवाहरुलाई कुक, इलोक्ट्रिसियन, प्लम्बिङ्ग र डकर्मीको तालिम संचालन हुदै आएको छ ।
रिटर्नी माइग्रेशन नेपालको व्यवस्थापनमा निजगढ नगरपालिका वडा नम्बर ११, ५, र ८ मा ३ साता अघिदेखि तालिम हुदै आएको हो । तालिममा साझा व्यवसायी चन्द्रपुर, साना व्यवसायी संघ वीरगन्ज र उद्यम विकास तथा रोजगार सृजना केन्द्र हरिऔन प्रशिक्षकले प्रशिक्षण दिदै आएका छन ।
तालिमपछि सहभागीहरुको परीक्षा लिएर प्रमाणपत्र र १÷१ सेट काम गर्ने समाग्रीसमेत वितरण गरिने रिटर्नी माइग्रेशनको मधेस प्रदेश इन्चार्ज रामकृष्ण घिमिरेले जानकारी दिखनुभयो । उहाँले तालिमले बैदेशिक रोजगारीबाट फर्किएका निजगढका युवाहरुलाई स्वरोजगार बन्न मद्दत गर्ने पनि बताउनुभयो ।