वीरगञ्ज,वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप नियन्त्रणमा नआएपछि नगर कार्यपालिकाको शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरू थप तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले भदौ १५ गते (आइतबार) देखि भदौ १७ गते (मङ्गलवार) सम्म सम्पूर्ण सरकारी, निजी विद्यालयहरूसहित कोचिङ सेन्टरहरू र इन्स्टिच्युटहरू बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि भदौ ८ र ९ गते पहिलो पटक र दोस्रो पटक भदौ ११ देखि १३ गतेसम्म विद्यालय बन्द गरिएको थियो । हैजाको सङ्क्रमण अझै नियन्त्रणमा नआएको निष्कर्ष निकाल्दै महानगरपालिकाले विद्यालय बन्दको अवधि थप गरेको छ ।
बन्दको समयमा विद्यालयहरूलाई शौचालय र खानेपानीको ट्याङ्कीको सरसफाइ गर्न, पानी शुद्धीकरणका लागि क्लोरिनको झोल प्रयोग गर्न, स्वास्थ्य संस्थासँग समन्वय गर्न र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन निर्देशन दिइएको छ ।
महानगरपालिकाले हैजा नियन्त्रणका लागि विभिन्न कदमहरू चालेको छ । स्ट्रिट फुड (पानीपुरी, चाट, पुच्का, भाजा आदि) मा पूर्ण प्रतिबन्ध लगाइएको छ भने टोल–टोलमा स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरी पानी उमालेर खाने, फलफूल र तरकारी राम्ररी धोएर पकाउने, काँचो र बासी खानेकुरा नखाने र व्यक्तिगत सरसफाइमा ध्यान दिन जनचेतना फैलाउने कार्य तीव्र पारिएको छ ।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले विद्यालय बन्दको अवधिमा शिक्षक र कर्मचारीहरूलाई टोली बनाएर समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको बताउनुभयो । विद्यालयहरूले हैजा नियन्त्रणसम्बन्धी पोस्टर, पम्प्लेट र जनचेतनामूलक सामग्रीहरू महाशाखाबाट प्राप्त गर्न सक्नेछन् ।
महानगरपालिकाले हैजा र झाडापखालाका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गरेको छ भने बोरिङ र खानेपानी संस्थानबाट वितरण हुने पानीको पाइप व्यवस्थापनमा विशेष ध्यान दिएको छ । हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रण नहुन्जेल यस्ता प्रयासहरू जारी रहने र नागरिकहरूलाई सचेत रहन महानगरपालिकाले अनुरोध गरेको छ ।
सङ्क्रमितको सङ्ख्या १६३ पुग्यो
वीरगञ्ज,
पर्सामा नौ दिनमा एक सय ६३ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । भदौ ६ गते शुक्रवार तीन जनामा हैजा पुष्टि भएकोमा त्यसपछि शनीवार बिहानसम्म सङ्क्रमितको सङ्ख्या एक सय ६३ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।सङ्क्रमितमध्ये एक सय दुई जना उपचारपछि डिस्चार्ज भएका र ६१ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ । हैजा पुष्टि हुनेमध्ये एक सय ५४ जना वीरगञ्ज महानगरपालिकाका र नौ जना पोखरीया नगरपालिकाका रहेका जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले जानकारी दिनुभयो ।
शुक्रवार मात्रै झाडापखालाका ४१ जना नयाँ बिरामी थपिएका छन् । अहिलेसम्म झाडापखालाका सात सय ५१ बिरामीहरु भर्ना भएकोमा पाँच सय १७ जना उपचारपछि घर फर्किएका छन् । उपचाररत दुई सय १९ जना मध्ये ३४ जना आईसीयूमा र सात जना एचडीसीयूमा छन् ।
पर्सामा हैजा नियन्त्रणका लागि तीनवटै तहका सरकार सक्रिय छन् । जनचेतनामुलक कार्यक्रमहरु पनि भइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।


















