गोकुल घोरसाइने
निजगढ,पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डको जंगलमा हात्तीको आक्रमणबाट सोमवार बिहान एकजना ट्रक चालकको मृत्यु भएको छ ।सोमवार रातिदेखि नै राजमार्ग अवरुद्ध गर्दै आएको हात्तीले सडकमा रोकिएको ट्रकमा आक्रमण गर्न खोजेपछि ओर्लिएर भाग्ने क्रममा ट्रक चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का ४० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।
सडकको बीच भागमा उभिएर सडक अवरुद्ध पारेपछि रोकिएको ट्रकभित्रै सुँढ छिराएर आक्रमण गर्ने प्रयास गरेपछि ज्यान जोगाउन ओर्लिएर भाग्दै गरेका चौधरीलाई हात्तीले लखेटेर ज्यान लिएको थियो । राजमार्गको १२ किलो भन्ने स्थानमा हात्तीको आक्रमणमा परेर ट्रक चालक चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिनुभयो ।
आइतवार राती करिव १०ः ३० बजे जंगलबाट निस्किएको सो हात्तीले राति पनि १ दर्जनभन्दा बढी सवारी र ढुवानीका साधनमा आक्रमण गरेको थियो । हात्तीले भारतीय नम्बर प्लेटको डब्लुबि ७३ जी– ९५८७ नम्वरको माइक्रो बस र बा २ च ७९२८ नम्वरको पिकअप भ्यान राजमार्गको छेउमा पल्टाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । हात्तीले सवारी साधनभित्र रहेका सामानहरु तोडफोड गरेको केही यात्रुहरुलाई सामान्य घाइते बनाएको भएपनि ठूलो क्षति नगरेको उहाँले जनाउनुभयो । हात्तीले राजमार्ग अवरुद्ध पारेर गाडीहरुमा आक्रमण गरेको खबर पाएपछि पर्सा राष्ट्रिय निकुञ्जको नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली रातभरि नै सडकमा खटेको थियो ।डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झाले पर्सा राष्ट्रिय निकुञ्जबाट ल्याइएको घरपालुवा हात्ती र सुरक्षाकर्मीको मद्दतमा सोमवार दिउसो सो हात्तीलाई जंगल पठाइएको बताउनुभयो । घटनास्थलबाट करिव १० किलो मिटर पूर्व पर्ने तामागढीबाट दिउसो १२ बजे सो हात्ती दक्षिणतर्फको जंगल पठाइएको उहाँले जानकारी दिनुभयो ।


















