रौतहट, ६ असोज । गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा रौतहटमा सरकारी तथा निजी गरी करिब ४४ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सम्पत्ति नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ ।

आन्दोलनका क्रममा रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार १९ जना प्रहरी कर्मचारी र ५ जना सर्वसाधारण सामान्य घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सबैभन्दा बढी क्षति भएको छ, जहाँ ढुंगामुढा र आगजनीका क्रममा १ जना डीएसपी, २ जना इन्स्पेक्टर, २ जना सई, ४ जना असई, १ जना वरिष्ठ हवलदार, ४ जना हवलदार, १ जना सहायक हवलदार र ४ जना जवान घाइते भएको प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।

प्रहरीले आन्दोलन नियन्त्रणका क्रममा चन्द्रनिगाहपुर क्षेत्रमा मात्रै १२१ राउन्ड अश्रुग्याँस प्रहार, आगलागीमा परेर ९५ राउन्ड गोली जलेको र ७१ राउन्ड प्रत्यक्ष फायर गरिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
त्यस क्रममा प्रहरी कार्यालयको महेन्द्रा स्कार्पियो (ना१झ १३२१) सहित ११ वटा सवारीसाधन पूर्ण रूपमा जलेका छन् भने ५ वटा आंशिक र १ वटा सामान्य क्षतिग्रस्त भएका छन्, जसको मूल्य करिब ६३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । साथै, १२ वटा हेलमेट, ४० वटा लाठी, २२ वटा शिल्ड, १५ वटा राइट कन्ट्रोल, १० वटा हतकडी, २ वटा साबेल, २ वटा कोदालो, २३ वटा बेरेट क्याप, ९ वटा बेल्ट, १९ मिटर सर्ट कपडा र ३५ मिटर उनी कपडा जलेर नष्ट भएका छन् ।

तोडफोड र आगजनीका कारण विभिन्न सरकारी कार्यालयमा मात्रै करिब ३६ करोड ३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

गौर नगरपालिका : करिब ६४ लाख
जिल्ला प्रशासन कार्यालय गौर : ९ लाख
जिल्ला अदालत गौर : ५० हजार
राष्ट्रिय अनुसन्धान कार्यालय गौर : ७५ हजार
करदाता सेवा कार्यालय गौर : ९ लाख
कारागार कार्यालय गौर : ५० हजार
चन्द्रपुर नगरपालिका : ३ करोड
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर : ६ करोड
वन डिभिजन कार्यालय चन्द्रनिगाहपुर : २ करोड ५० लाख
प्रदेश लेखा इकाई कार्यालय चन्द्रनिगाहपुर : २ करोड ६० लाख
यस्तै, मौलापुर नगरपालिकामा २ वटा स्कार्पियो, १ जेसीबी र १ ट्याक्टर जलेर ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । वृन्दावन नगरपालिका–१ वडा कार्यालयमा १६ लाख, वडा–८ मा ८ लाख १४ हजार ३ सय, कटहरिया नगरपालिकामा १ करोड ७४ लाख २८ हजार ४ सय, फतुवा विजयपुर नगरपालिकामा २ करोड, बौधिमाई नगरपालिकामा १ करोड ६८ लाख २२ हजार ६७५, माधव नारायण नगरपालिकामा ८ लाख ६१ हजार १४०, गुजरा नगरपालिका–४ वडा कार्यालयमा ५० हजार रुपैयाँको क्षति भएको विवरणमा उल्लेख छ ।

प्रहरीको विवरणअनुसार, आन्दोलनका क्रममा करिब ८ करोड ४२ लाखभन्दा बढी निजी सम्पत्ति नष्ट भएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल : करिब ४५ लाख
सांसद देवप्रसाद तिमिल्सिना : २ करोड ६० लाख
प्रदेश सांसद युवराज भट्टराई : ५ हजार
सहायक सीडीओ किरणनिधि तिवारी : ६७ लाख
चन्द्रपुर नगर प्रमुख सञ्जय काफ्ले : ५० लाख
मौलापुर नगर प्रमुख रीना साह : ५ हजार
गरुडा नगर प्रमुख कन्थमणि जायसवाल : ३ करोड ८९ लाख ४९ हजार ५००
फतुवा विजयपुरका कार्यवाहक मेयर अम्बेया खातुन : ३० लाख

यसरी हेर्दा, रौतहटमा मात्र जेनजी आन्दोलनका कारण सरकारी तथा निजी गरी करिब ४४ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply