अनिल तिवारी
सिमरा, ६ भदौँ– डिभिजन वन कार्यालय सिमराले बाराको विभिन्न स्थानबाट करिब ३२ क्युफिट काठ सहित एक जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय अन्तरगत वन सुरक्षाकर्मीले शुक्रवार र शनिवारको गस्ति क्रममा उक्त परिमाणको काठसहित एक जनालाई काठ तस्करलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा करैयामाई गाउँपालिका वडा नम्बर– ३ गोलापाती बस्ने रामजान हजरा पासवान रहेका छन् । करिब ७÷८ जनाको समुहले काठ चोरी÷तस्करी गरेको अवस्थमा फेला पारेपछि तस्करलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ३ राउण्ट फायरिङ्ग गर्नुपरेको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले जानकारी दिनुभयो । उहाँले सोहि स्थानबाट २२ क्युफिट काठ, ५ थान साईकल र एउटा बन्चरोसमेत बरामद गरेको जानकारी दिनुभएको छ ।
यसैगरी डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय तामागढीबाट खटिएको गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १७ रघुनाथपुरबाट ८ क्युफिट बराबर २ थान र वडा नम्बर– १६ टाँगियावस्तिबाट ८ क्युफिटको १७ थान सखुवाको गोलिया काठ पवनि बरामद गरेको छ । घर छेउको घासँबारीमा लुकाएर राखिएको अवस्थामा बरामद भएको उक्त काठ सब डिभिजन वन कार्यालय तामागढीमा घाटगद्दि गरिएको डिभिजन वन प्रमुख अहमदले जानकारी दिनुभयो ।