कलैया,बाराको सिम्रौनगढ नगर अस्पतालमा भएको तोडफोड र नगरपालिकाका कर्मचारीमाथि भएको आक्रमणको बिषयमा छानबिन शुरु भएको छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीको संयोजकत्वमा समिति बनाएर छानबिन शुरु गरिएको हो । समितिमा बाराका अनुशंधान अधिकृत रतिश झा, प्रहरी निरीक्षक भरत अधिकारीसहित रहनु भएको छ । समितिले आइतबारबाट काम शुरु गरेको बताइएको छ ।
समितिले सर्पको डसाइबाट ज्यान गुमाएका बालकका पिता सुमोद साहसहित अस्पतालका कर्मचारीहरुसंग पनि आइतबार भेटर कुराकानी गरेको सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो । गत भदौ २८ गते. अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि हातपात भएको भन्दै कर्मचारीहरु अहिले आन्दोलनमा रहेका छन् । आन्दोलनका कारण नगरपालिकाबाट उपलब्ध सबै सेवा २ सातादेखि ठप्प बन्दै आएको छ । सर्पदंशबाट मृत्यु भएका बालकको उपचारमा ढिलासुस्ति गरेको भन्दै आक्रोशित स्थानीयहरुको एउटा समूहले नगर अस्पतालमा तोडफोड गर्नुका साथै कर्मचारी र स्वास्थ्यकर्मीहरुमाथि कुटपिट गरेका थिए ।