काठमाण्डौ – राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक पारित गरेको छ । सरकारले ल्याएको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पारित गरेको समिति सभापति रामहरि खतिवडाले बताउनुभयो ।उहाँका अनुसार विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छन् । पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो ।

आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानून नहुँदा नागरिकताविहीनको सङ्ख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।यसैबीच सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले एनआरएन नागरितासम्बन्धी छुट्टै ऐन निर्माण गर्ने र नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गरिने बताउनुभएको हो ।परराष्ट्र मन्त्रालयको नेतृत्वमा ऐन निर्माण भइरहेको गृहमन्त्रीको भनाइ छ । उहाँले गोरखा सैनिकका समस्या समाधान गर्नका लागि नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न लागिएको समेत स्पष्ट पार्नुभएको छ ।

Leave a Reply