निजगढ,बाराको निजगढ नगरपालिका ९ मा रहेको पिरु फाउडेशन पुर्नस्थापना (सुधार केन्द्र) मा राखिएका एकजनाको मृत्यु भएको छ ।पुर्नस्थापना केन्द्रमा एक्कासी लडेर घाइते भएका भनिएका निजगढमा १० लाल गाउँका अन्दाजी वर्ष ४५ का बिष्णु घिमिरेको उपचारको क्रममा वीरगञ्जस्थित वयोधा अस्पतालमा मंगलवार राति १०ः१० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बिहानको खाना खाने समयमा बेहोस भएर भुइँमा लडेका घिमिरेको उपचारको क्रममा वीरगञ्जको वयोधा अस्पतालमा मृत्यु भएको हो । अचानक बेहोस भएर लडेको भन्ने जानकारी प्राप्त भएपछि पुगेको प्रहरीले सामुदायिक अस्पताल निजगढ (प्रसुती गृह) मा सामान्य उपचारपछि घिमिरेलाई थप उपचारको लागि वीरगञ्ज पठाएको थियो ।

मादक पदार्थको कुलतमा फसेका घिमिरेलाई परिवारका सदस्यहरुले गत साउन २ गते सुधार केन्द्रमा भर्ना गराएका थिए ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।घिमिरेको शव हाल वयोधा अस्पतालमा नै राखिएको छ । वैदेशिक रोजगारीको क्रममा दुवहीमा रहेका छोरा फर्किने क्रममा रहेको र उनी आएपछि पोष्टमार्टम गरिने दाजु सानु घिमिरेले जानकारी दिनुभयो । घिमिरेको परिवारमा श्रीमती, १ छोरा र २ छोरी छन ।

Leave a Reply