काठमाण्डौ – प्रतिपक्षी दलहरूले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन् ।मंगलवार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले उपसभामुखलाई हटाउने कांग्रेस र एमालेको कदमको विरोध गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले उपसभामुख रानामाथि पद अनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेकाले त्यसको विरोध गर्ने निर्णय भएको बताउनुभयो ।
जनजाति महिला र अन्तर्राष्ट्रियस्तरको पुरस्कार प्राप्त व्यक्तिलाई हटाएर संवैधानिक परिषदमा प्रतिपक्षको बहुमत भएकाले सत्तापक्षको बहुमत पु¥याउन चलखेल भइरहेको उहाँको भनाई छ ।वरिष्ठ उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस र एमालेको तर्फबाट हस्ताक्षर अभियान शुरू भइसकेको कुरा सुन्यौँ । कांग्रेस र एमालेको यो कदमलाई कुनै हालतमा सम्भव हुन नदिने बैठकले निर्णय गरेको छ ।’यस्तै पाण्डेले आफ्नो पार्टीलाई उपसभामुखका लागि कुनै प्रस्ताव नआएको पनि स्पष्ट पार्नुभयो ।



















