वीरगञ्ज,वीरगञ्जको मुख्य सडक विस्तार गर्न नहुने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको पछिल्लो उत्प्रेषण (रिट) मुद्दाको पेसी सरेको छ ।यसअघि बुधवारको लागि तोकिएको पेसी विपक्षी पक्षका विभिन्न कार्यालयमा सूचना नपुगेको भन्दै सरेर अब साउन १३ गतेका लागि तोकिएको अदालत स्रोतले जनाएको छ ।
यसअघि, उक्त सडक विस्तारविरुद्ध दायर भएका पाँच वटा छुट्टाछुट्टै उत्प्रेषण मुद्दालाई न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत फागुन २८ गते खारेज गरिसकेको थियो । रिटहरू लक्ष्मण साह रौनियार, वीरेन्द्रकुमार संघई, राजकुमारीदेवी तुल्स्यान, भरत साह रौनियार र सुधीरकुमार वर्णवालले दायर गरेका थिए ।
उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा लगायतलाई विपक्षी बनाइएको थियो ।
वर्षौँदेखि पेसीमा “हेर्दा हेर्दै” मा राखिँदै आएको सो मुद्दा अन्ततः लामो कानुनी बहसपछि खारेज भएको हो ।
तर, त्यही विषयलाई लिएर पुनः असार ३२ गते नयाँ उत्प्रेषण रिट दर्ता गरिएपछि बुधवार छलफलका लागि पेसीमा राखिएको थियो । नयाँ रिटमाथि बुधवार सुनुवाइ हुन नसकेपछि अब साउन १३ गते हेर्नेगरी पेसीमा राखिएको हो ।
कानुन व्यवसायीहरूका अनुसार, एक पटक अदालतले कुनै विषयमा आदेश दिइसकेको अवस्थामा पुनः त्यही प्रकृतिको मुद्दा दर्ता हुनु न्यायिक प्रक्रिया विपरीत ठहर्छ । त्यसैले यस मुद्दाको पछिल्लो विकासप्रति कानुनी वृत्तमा समेत चासो बढेको छ ।


















