वीरगञ्ज,पर्सा जिल्ला अदालत बार एशोसियशनका कानुन व्यवसायीहरु आन्दोलित भएका छन् । विभिन्न पाँच बूँदे माग राख्दै देशैभरका कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।विकृति विसंगति तथा भ्रष्टाचारमुक्त न्यायपालिका ः व्यवसायिक हक, प्रतिष्ठा र पेशागत मर्यादा, न्यायलयमा व्याप्त विकृति, विसगंती र भ्रष्टाचारका विरुद्ध र न्यायपालिकाको जनआस्था अभिवृद्धिको निम्ति नेपाल बार एशोसियशनको अभियान अन्र्तगत कानुन व्यवसायीहरुले विरोध कार्यक्रम सुरु गरेका हुन् ।
विरोध कार्यक्रम अन्र्गतत मंगलवार दोस्रो दिनपनि जिल्ला अदालत पर्सा अगाडी एक घण्टा धर्नामा बसेको कानुन व्यवसायी कमल मोहन पोखरेलले जानकारी दिनुभयो । न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर, न्यायलयमा व्याप्त भ्रष्ट्राचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ मा भएको संशोधन खारेज गरी पूर्ववत् व्यवस्था लागू गर, विगो, जरिवाना तिरे पश्चात मात्र पुनरावेदन, मुद्दा दोहोच्याई पाऊँ निवेदन दर्ता गर्ने स्वेच्छाचारी र गैरन्यायिक कार्यको अन्त्य गर लगायतको माग राख्दै आन्दोलित भएको कानुन व्यवसायीहरु बताएका छन ।

















