काठमाण्डौ– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधवार बसेको संसदीय दल बैठकले केपी शर्मा ओली नेतृत्वको सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यसअघि भूमि अध्यादेश विधेयक ल्याउँदा विरोध गरेको जसपा नेपालले अहिले पनि भूमि विधेयकसहित प्योकजमा सहमति खोजे पनि सरकार त्यसमा तयार नभएपछि समर्थन फिर्ताको निर्णय गरेको हो ।जसपा नेपालले सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भएको छैन । प्रतिनिधिसभामा जसपा नेपालका ५ जना र राष्ट्रियसभामा ३ जना सांसद छन् । राष्ट्रिय सभामा सरकारलाई बहुमत पु¥याउन जसपा नेपालको साथ आवश्यक थियो ।
जसपाले समर्थन औपचारिक रूपमा फिर्ता लिएपछि सरकार राष्ट्रियसभामा अल्पमतमा पर्नेछ । ५९ सदस्यीय राष्ट्रियसभामा नेपाली कांग्रेससँग १६ र नेकपा एमालेसँग ११ सिट छ । सरकारमा रहेको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग १ सिट छ ।बहुमतका लागि ३० सिट चाहिनेमा यो सङ्ख्या जोड्दा २८ मात्र हुन्छ । जसपाको समर्थन रहँदा प्रतिनिधिसभामा सरकारसँग दुई तिहाइ मत रहेकोमा अब त्यो पनि गुमेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन फिर्ता लिएसँगै सत्ता साझेदार दल सङ्ख्या अब ६ वटामा झरेको छ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको छ
















