काठमाण्डौं,बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय हुनुभएको छ ।यसअघि लाइन काटे पनि सरकारको दबाबमा जोडिएको थियो । तर, लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत उपभोग गरेको विद्युत् महसुलको बक्यौता तिर्न अटेर गर्दै आएका उद्योगमा फेरि लाइन काट्न विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सहमतिको माग गरेर विद्युत नियमन आयोगलाई पत्र लेख्नुभएको छ । आयोगमा पठाएको पत्रमा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगमा लाइन काट्न सहमति मागेको छ ।
प्राधिकरणले यसअघि लाइन काटेपछि केही उद्योगले बक्यौता तिरिसकेका छन्, तर सरकारकै संरक्षणमा ३५ वटा उद्योगले भने अझै अटेर गर्दै आएका छन् । २०७२ माघदेखि २०७५ सालको वैशाखसम्मको प्रिमियम महसुल बक्यौतावापत ३५ वटा उद्योगले झन्डै सात अर्ब रुपैयाँ महसुल तिर्न बाँकी छ ।