काठमाडौं, १ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

राप्रपाको आठौँ महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ। शाहीले उक्त महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन्।

उनले एक/दुई दिनभित्रै औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने बताए। ‘अध्यक्ष पदमा उठ्ने हो। एक/दुई दिनमा अध्यक्षमा उठ्ने औपचारिक घोषणा गर्नेछु,’ उनले भने।

राप्रपाको विद्यमान विधानअनुसार केन्द्रीय अध्यक्ष पदमा उम्मेदवार बन्न केन्द्रीय पदाधिकारीका रूपमा कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था छ। अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्ष, प्रवक्ता, सहमहामन्त्री र सहायक महामन्त्रीलाई पार्टीका पदाधिकारी मानिएको छ। शाही हाल पार्टीको प्रवक्ता रहेकाले विधानअनुसार अध्यक्षमा उम्मेदवारी दिन योग्य देखिएका छन्।

यसैबीच, वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले पनि दोस्रो कार्यकालका लागि नेतृत्वमा दोहोरिने इच्छा देखाएका छन्। यद्यपि, उनले अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्।

त्यस्तै, राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पनि अध्यक्ष पदका अर्का आकांक्षी हुन्। पूर्वअध्यक्षद्वय कमल थापा र डा. प्रकाशचन्द्र लोहनीको समर्थनमा पाण्डेले अध्यक्ष बन्ने तयारी अघि बढाएका छन्।

महाधिवेशनलाई लक्षित गर्दै थापा, लोहनी र पाण्डेले जिल्ला भ्रमणसमेत सुरु गरिसकेका छन्। सोमबार पोखरामा आयोजित कार्यक्रममा शाही पनि सहभागी भएका थिए।

पछिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जित्ने राप्रपाका एकमात्र उम्मेदवार शाही हुन्। उनको उम्मेदवारी घोषणासँगै आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

Leave a Reply