काठमाडौं, १ मंसिर। बूढानीलकण्ठबाट साढे २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन्।
कारागार चलान हुनेमा चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका उनीहरूलाई भन्सार ऐनअन्तर्गत कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको थियो। अदालतको आदेशपछि तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिए।
गत असोज २२ गते एसएसपी खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–माथिल्लो भंगालस्थित एक घरबाट उनीहरूलाई २१ किलो ७५०।६८ ग्राम सुनसहित पक्राउ गरेको थियो।
बरामद सुनको पक्राउ परेको दिनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेको सुन बरामद गरेको थियो।
अनुसन्धानका क्रममा चिनियाँ समूहले माथिल्लो भंगालमा पूरै घर भाडामा लिएर सुन प्रशोधन तथा कारोबार गर्ने कारखाना सञ्चालन गरेको खुलेको थियो।
















