कृष्णउदास खनाल

वीरगन्ज,मधेस प्रदेशमा बाहालवालादेखि पूर्वमन्त्री आम चुनावमा पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भए भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ ।

सबैभन्दा बढी धनुषा जिल्लाबाट मात्रै छ जना पूर्वमन्त्री पराजित भएका छन् । धनुषाको क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव अघिल्ला प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित हुनु भएको छ । यादव यसअघि २०६४ र २०७४ को चुनावमा त्यहीबाट बिजयी हुनु भएको थियो ।

 

यस्तै धनुषा क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धामा रहेका तीन जना पूर्वमन्त्री मध्ये पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण यादव निर्वाचित भए भने पूर्वमन्त्री उमाशङ्कर अरगरिया र रामचन्द्र झा पराजित भए । धनुषाको क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ दोस्रो पटक विजयी हुँदा पूर्वमन्त्री तथा कांग्रेसका सहमहामन्त्री महेन्द्रयादव पराजित हुनुभएको हो ।

धनुषामा छ जना पूर्वमन्त्री पराजित हुँदा छिमेकी जिल्ला सिरहामा पनि चार जना पूर्वमन्त्रीलाई पराजय बेहोर्नुपरेको छ । सिरहा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा कांग्रेस नेता पदमनारायण चौधरी एमालेका रामशङ्कर यादवसँग पराजित हुनुभयो । सिरहा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा कांग्रेस नेत्री चित्रलेखा यादव पराजित हुनुभयो । सिरहा क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा एमाले नेता लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा अर्का पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साह पराजित हुनुभयो ।

सिरहा क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री धर्मनाथ साह पनि फराकिलो मतान्तरले पारजित हुुनुभयो । उम्मेदवारी दर्तादेखि मतगणनासम्म सर्वाधिक चासोको रुपमा रहेको सप्तरी क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग फराकिलो मतान्तरले पराजित हुनु भएको हो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भई मन्त्रीसमेत भइसक्नुभएका हेमराज तातेडले यस पटकको प्रदेशसभा सदस्य निर्वाचनमा भने आफ्नो जमानतसमेत जोगाउन सक्नुभएन । कांग्रेसले टिकट नदिएपछि सप्तरी क्षेत्र नम्बर १ (१) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका तातेडले जम्मा नौ सय ९२ मत मात्र प्राप्त गर्नुभयो । सो क्षेत्रबाट एमालेका राजकुमार लेखी १४ हजार दुई सय ९१ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

 

महोत्तरीमा पनि दुई जना पूर्वमन्त्री पराजित भए । महोत्तरी क्षेत्र नम्बर १ मा पटकपटक मन्त्री भइसकेका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेल एक हजार ३० मतान्तरले अघिल्लो प्रतिस्पर्धीबाटै पराजित हुनुभयो ।

 

वर्तमान सरकारको खानेपानीमन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ मा पराजित हुनुभयो । जहाँ एमालेका अच्युतप्रसाद मैनाली ३९ हजार एक सय ९५ मत ल्याएर विजयी हुनु भएको हो । मन्त्री चौधरीले भने ३० हजार ५६ मत मात्र प्राप्त गर्नुभयो ।

 

पूर्वमन्त्री तथा एमाले नेता एकबाल मियाँ बारा क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठसँग पराजित हुनुभयो । चुनाव जितेर गएपछि नेताहरु जनतासँग गरेको वाचा बिर्सिने, नातावाद, कृपावादमा रमाउने, विकास निर्माणमा ध्यान नदिने र सत्ता लिप्सामा लाग्ने गरेकाले सत्ता भोग गरिसकेका नेतालाई यसपटकको निर्वाचनमा मतदाताले पाखा लगाएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।

Leave a Reply