काठमाडौं। ललितपुरको नख्खुबाट प्रहरीले स्रोत खुल्न नसकेको १ करोड ६७ लाख रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो ललितपुर महानगरपालिका–२ स्थित नख्खुबाट उक्त रकम बरामद गरेको हो।
प्रहरीका अनुसार बागमती प्रदेश–०१–०२७ च २७६५ नम्बरको भ्यानमा नगद रकम बोकेर हिँडिरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौंको बानेश्वरका प्रज्वल रिजाल रहेका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीनै जना पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ। उक्त कम्पनीका सञ्चालक भगवान शाह रहेको बताइएको छ।
बरामद रकमको स्रोतबारे पक्राउ परेकाहरूले स्पष्ट पार्न नसकेको प्रहरीको भनाइ छ। प्रहरीले नगदको स्रोत र कारोबारको प्रकृतिबारे थप अनुसन्धान अघि बढाएको छ।
















