सडक विस्तार हुनुपर्दछ । यसमा दुई मत हुनैसक्दैन । झन् मुल सडकको विस्तार त अपरिहार्य नै छ । स्तरोन्नतिको चरणमा रहेको पूर्वपश्चिम लोकमार्गको कमला–पथलैया खण्डको १३० किमी सडक दायाँबायाँका रुख व्यवस्थापनका लागि सडक विभागले स्वीकृति पनि दिएको छ ।
अब वन फडानी गर्न आवश्यक पनि पर्छ नै । वन तथा भूसंरक्षण विभागले असार २३ गते स्वीकृत परिमार्जित वातावरणीय व्यवस्थापन योजना बमोजिम ३१ हजार ५२९ वटा रुख हटाउन धनुषाको गौरीडाँडास्थित कमला–ढल्केवर–पथलैया सडक आयोजनामा पत्राचार गरेको समेत कुरा आएको छ ।विश्व बैङ्कको १८ अर्ब ६० करोड ऋण सहयोगमा पूर्वी खण्डको सन २०२५ जनवरी १ तारिखदेखि कमला पुल पश्चिम, धनुषा जिल्लाको बडहरी र सर्लाहीको फूलजोर गरी ३ ठाउँबाट एकै साथ स्तरोन्नतिको काम अघि बढाइएको छ ।
अहिले २ लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको ४ लेनमा स्तारोन्नतीको कामका लागि ठेक्का सम्झौता भएको हो ।
आगामी सन २०२७ सम्म निर्माण सम्पन्न भइसक्नुपर्ने यस आयोजनाको ६ महिना बितिसकेको पनि काम शुरु हुन नसकेको हो । रुख कटान सम्बन्धि समस्याले गर्दा ठेकेदार कम्पनीहरूले सडक स्तरोन्नतिलाई थाती राख्दै नयाँ पुल निर्माण गर्दैआएका छन । कमला–बागमती पूर्वी खण्डमा ३४ पुल र १०० वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा १५ पुल र १७ वटा कल्भर्टमा मात्र काम गर्न सकिएको छ ।तर मुख्य कुरा के हो भने रुख कटान गर्दा जथाभावी काट्नु भएन । त्यहाँ खटिने स्वार्थी समूहले मौका यही हो भनेर जंगलको बिनास नै गर्न पनि सक्छन् । नेपालमा कुनै कुुराको ठेगान छैन । स्वार्थका लागि जे पनि गर्न सक्ने भएकाले रुख काटेपनि जथाभावी फडानी नहोस् र रुखकै क्षति कम होस् यो बिषयमा सम्बन्धित निकायको चासो बेलैमा जाओस् ।

















