निजगढ,पशु बलीको लागि विश्वभर चर्चित बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा आयोजना हुने गढीमाई मेलामा यस वर्ष ११ हजारभन्दा बढी राँगाको बली दिइने अनुमान गरिएको छ ।नेपाल र भारतको सीमा क्षेत्रमा यो वर्ष बली विरोधी गतिविधि न्यून भएकाले मेलामा बली दिइने पशुपंक्षीको संख्या बढ्नसक्ने गढीमाई मेला समिति मातहतको बली व्यवस्थापन उपसमितिका संयोजक प्रेमप्रसाद साहले बताउनुभयो । ‘अघिल्लो मेलामा असिंसावादी समूहको नाममा भारतीय सीमा क्षेत्रमा बली विरोधी गतिविधि तीव्र थियो, संयोजक साहले भन्नुभयो, यो वर्ष त्यस्ता गतिविधि न्यून रहेकाले बली दिइने राँगाको संख्या बढ्ने छ ।’ उहाँका अनुसार अवरोध भएपछि अघिल्लो मेलामा बलीको लागि भारतबाट ल्याउदै गरिएका कयौं पशुपंक्षी बाटोमा नै रोकिएका थिए ।

यो वर्ष वातावरण सहज भएकोले श्रद्धालुहरुले निर्वाध रुपमा बली स्थलसम्म पशुपंक्षी ल्याउन पाउने र अघिल्लो मेलाका तुलनामा बढी संख्यामा राँगाको बली दिइने संयोजक साहको भनाई छ । उहाँले यसअघि २०७६ सालमा लागेको मेलामा करिब १० हजार राँगाको बली चढाइएको जानकारी पनि दिनुभयो ।मङ्सिर २३ गते अर्थात डिसेम्बर ८ तारिकको दिन गढीमाईमा राँगाको बली चढाइने तीथि परेको छ ।समितिले मन्दिरको पूर्वपट्टी रहेको पक्की बदशालामा राँगाको बली दिने व्यवस्था मिलाइएको छ । संयोजक साहले बलीको तीथिभन्दा अगाडिदेखि नै श्रद्धालुहरुले राँगा ल्याएर छोड्ने गरेको र यसरी छोडिएका राँगाको व्यवस्थापनको लागि राँगाको उचाइ अनुसार बदशालामा चार वटा ब्लक बनाइएको जानकारी पनि दिनुभयो । उहाँले सो स्थानमा पशु आहार, पानी, र बली दिने कार्यको व्यवस्थाको साथै फोहोर मैला तथा सिनो व्यवस्थापनका लागि भेटेरिनरी चिकित्सकहरूको टोलीबाट सुझाव लिएर समितिले आवश्यक कार्य गर्ने पनि बताउनुभयो ।
पशु अधिकारकर्मीहरूले बली प्रथाको विरोध गरिरहेको भए पनि यो विषय परम्परा र आस्थासँग जोडिएको हुँदा आफूले केही टिप्पणी गर्न नमिल्ने संयोजक साहले बताउनुभयो ।

मन्दिरमा बली दिइएका राँगाको सङ्ख्या गणना गरिने भए पनि बोकालगायतका साना पशु र पंक्षीहरुको बलीको तथ्याङ्क भने समितिले राख्न नसक्ने साहले जानकारी दिनुभयो । भक्तजनहरुले मन्दिर क्षेत्रको चार किल्लाभित्र पर्ने जुनसुकै स्थानमा पनि बोका र पंक्षीको चढाउने र त्यसलाई आफैले घरमा लिएर जाने गरेकोले पनि बली दिइएका साना पशु र पंक्षीको संख्या एकिन गर्न कठिन हुने उहाँको भनाई छ ।यस वर्षको गढीमाई मेलामा राँगाको बलीपछि मङ्सिर २४ गते बोकालगायतका अन्य पशुपंक्षको बली चढाइने कार्यक्रम तय गरिएको छ ।परम्पराअनुसार गढीमाई मन्दिरका पूल पूजारी र धामीले पञ्च बली दिएपछि मात्र अन्य पशुपंक्षको बली शुरु गर्ने प्रचलन रहेको छ ।
रौतहटमा पनि गढीमाई मेला लाग्ने
राजकुमार यादव
मौलापुर,रौतहटको सुन्दरपुरमा नेपालको दोस्रो ठूलो पञ्चवर्षीय गढीमाई मेला यस वर्ष लाग्ने भएको छ । आगमी मङ्सिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको गढीमाई नगरपालिका– ४ सुन्दरपुरस्थित गढीमाई मन्दिरमा यस वर्ष पञ्चवर्षीय मेला लाग्ने आयोजक समितिले जनाएको छ ।बाराको बरियारपुरस्थित महागढीमाईपछि यो मेला पशु बलीको दृष्टिले नेपालको दोस्रो ठूलो मेला भएको आयोजकको दाबी छ ।
गढीमाई मेला मूल समितिका अध्यक्ष एवंम गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवले बुधवार नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी मेला बारे जानकारी दिनुभएको हो ।

हरेक पाँच वर्षमा एक पटक लाग्दै आएको सुन्दरपुर गढीमाई मन्दिर मेलाको तयारी तीव्र रुपमा अगाडि बढाइएको उहाँले बताउनुभयो । मेलाका लागि ६० वटा घुम्ती र करिव पाँच सय अस्थायी शौचालय निर्माण गरिने समितिले जनाएको छ ।
रौतहटको सुन्दरपुरस्थित गढीमाईको मेला एसियाकै दोस्रो ठूलो मेला रहेकोले मेलामा नेपाल, भारत सहित अन्य देशका गरी लाखौं भक्तजन दर्शन गर्न आउने र त्यसलाई मध्यनजर गर्दै मेलामा बाहिरबाट आउने आगन्तुकलाई मेला समितिकोतर्फबाट निःशुल्क खाना र बस्ने व्यवस्था मिलाइएको समितिका अध्यक्ष नगर प्रमुख यादवले जनाउनुभयो । त्यस्तै मेलालाई भव्य बनाउन मङसिर २० गते भारतीय कलाकार खेसारीलाल यादवलाई आमन्त्रण गरिएको मेला आयोजकसमितिले जनाएको छ । भोजपुरी भाषाका कलाकार खेसारीलालसँगै भारतीय भोजपुरी मोडेल कलाकार माही र मनिषा र नेपाली कलाकारहरुले पनि मेलामा सांगीतिक प्रस्तुति दिने जनाइएको छ ।सुन्दरपुरको गढीमाई मन्दिर विशेष गरी पशु बलीको लागि प्रख्यात छ । भाकल पूरा हुने विश्वासमा श्रद्धालु भक्तजनहरुले मन्दिरमा ठूलो संख्यामा पशुपंक्षको बली दिदैआएका छन । यहाँ मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच थरी पशु एवंम पक्षीको पञ्चबली दिने परम्परा छ । मन्दिरमा तान्त्रिकले आफ्नै शरीरको रगत चढाएपछि बली शुरु हुने गरेको छ ।

Leave a Reply