जनकपुरधाम,मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।बजेटमाथि जारी सामान्य छलफलको लागि बिहीवार १ बजे सभाको पाँचौँ अधिवेशनको १३औं बैठक बोलाइएको थियो ।बैठक सुरु हुनुअगावै एक सूचना जारी गरेर बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख रामचन्द्र मण्डलको आदेश आएपछि बैठक स्थगित गरिएको प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिनुभयो ।]

जारी सूचनामा भनिएको छ, ‘‘आव २०८२-०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने बजेट व्यक्तव्य मिति २०८२।३।१२ गते दिनको १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अर्कोसूचना नहुन्जेलसम्मको लागि स्थगीत गरिएको छ ।’’ बिहीवारको मधेश प्रदेश सभा पाँचौ अधिवेशन १३औं बैठकको दैनिक कार्यसूची अनुसार मधेश प्रदेश सरकारको आव २०८२-०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने उल्लेख गरिएको छ ।

छलफलमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री सुनिलकुमार यादवले दिनुहुने कार्यसूचि जारी गरिएको थियो ।सभाको चालु अधिवेशनको असार १ गते ११औं बैठकमा अर्थमन्त्री यादवले आ.व. २०८२-०८३ को राजश्व र व्यय ( बजेट वक्तव्य) प्रस्तुत गर्नुभएको थियो । त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।त्यसपछि बुधबार प्रदेश सभाको १२ औ बैठकमा प्रदेश साँसदहरुलाई रेडबुक (रातो) किताब वितरण गरिएको थियो । बुधवारको बैठकमा दुई जना साँसदलाई मात्र राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी गराइएको थियो ।

रेडबुकमा गहिरो अध्ययन नपुगेको भन्दै समामुख मण्डलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने जानकारी दिदै अर्को बैठक २०८२ असार १२ बिहीबार १ बजे बस्ने गरी स्थगित गर्नु भएको थियो ।स्थगित अघि सो बैठकमा जनता समाजवादी नेपालका प्रदेश साँसद तथा प्रमुख सचेतक रामअशिष यादव र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश साँसद रमिता प्रधानलाई मात्र राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सहभागी गराइएको थियो । मधेश प्रदेश सरकारले सार्वजनिक गरेको रेडबुक अध्ययन गरेपछि सत्ता नेतृत्व जनमत पार्टीभित्रै व्यापक असन्तुष्टिहरु व्यक्त गरिएको छ ।सभामा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले पार्टीको नीति, सिद्धान्त र भिजनलाई वास्ता नगरी बजेट ल्याएकोले हाम्रो व्यापक असन्तुष्टि रहेको बताउनुभयो । सो विषयमा पार्टीको संसदीय दलको बैठकले उचित निर्णय लिने उहाँले जानकारी दिनुभयो ।

मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले साँसदहरु बजेट व्यक्तव्यको गहिरो अध्ययनमा रहेको बताउनुभयो । बजेट वक्तव्य अध्ययनको क्रममा रहेकोले, कहाँ के त्रुटि, वा कुन माननीयको कुन योजना छुटेको हो भने बारेमा अहिलेसम्म कतैबाट आधिकारिक जानकारी आएको छैन, उहाँले भन्नुभयो, यदि बजेटमा त्रुटि छ भने छलफल गरेर समाधान गर्छौ ।’
बजेटमा सिके राउतको असन्तुष्ट
काठमाण्डौं,प्रतिनिधि सभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत) ले आफनो सामाजिक सञ्जालको सचिवालय पेजमा बुधवार मधेश प्रदेशको बजेटमाथि विरोध गर्दै कर्मचारीहरुले चलखेल गरेको बताउनुभएको छ ।अध्यक्ष राउतको टिप्पनीपछि पार्टी भित्रैबाट पनि बजेटप्रतिको असन्तुष्टि सतहमा आएको हो ।राउतको सचिवालय पेजमा मधेश सरकारको वार्षिक कार्यक्रम २०८२-८३ (रेडबुक) आएको उल्लेख गर्दै जनमत पार्टीले लिएको नीति, सिद्धान्त र ‘भिजन’ बाट हामी वञ्चित भएको आभाष भएको बताउनुभएको छ । जनमत पार्टीका अधिकांश योजनाहरू परेका छैनन्, न त पार्टीले राखेका गौरवका योजनाहरू÷भिजनरी कार्यक्रमहरू नै परेको छ, उल्लेख गरिएको छ ।
बिचौलिया वा अन्य पार्टीका माध्यमबाट राखिएका कार्यक्रमहरूमा २५-५० लाख, दुई करोड, चार करोड बजेट राखिएको छ भने जनमत पार्टीले सिफारिश गरेका कार्यक्रम परी हाले पनि पाँच-पाँच लाख बजेट छुट्टयाइएको पेजमा आलोचनात्मक टिप्पनी गरिएको छ ।तल र माथि ‘सिरियली’ अरूको योजनामा २५-५० लाख वा करोडको बजेट छ, तर बीचमा मैले नै दिएको मेरै निर्वाचन क्षेत्र सप्तरी २ को योजना आयो भने पाँच-पाँच लाखको बजेट छ, सचिवालय पेजमा आक्रोश व्यक्त गरिएको छ ।यस्तै असन्तुष्टिहरुको कारणले प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित गरिएको प्रदेश साँसदहरुको बुझाइ छ ।

Leave a Reply