पुष्पराज खतिवडा

मनहर्वा,निर्वाचन आचार संहिताको धज्जी उडाउँदै पूर्वश्रममन्त्री किसान श्रेष्ठले मतदाता प्रभावित पार्ने प्रयास गर्नुभएको छ । युवाहरुलाई निःशुल्क बैदेशिक रोजगारीमा पठाइदिने भन्दै आइतबार बाराको परवानीपुरमा पूर्वअन्तरवार्ता गराउँन थालेपछि सोको व्यापक विरोध भएको छ ।

सत्ता बन्धनको तर्फबाट बारा क्षेत्र नं.४ प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले सत्ताको आडमा निर्वाचन आचार सहिँताको धज्जी उडाएको भन्दै प्रतिपक्ष दलका कार्यकताहरुले विरोध जनाएपछि कार्यक्रम विथोलिएको छ । निर्वाचन क्षेत्र नम्बर ४ को परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा शनिबार उमेदवारकै पहलमा अन्तरवार्ता कार्यक्रमको आयोजना गरिएको हो ।

पूर्वमन्त्री समेत रहेका श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम ललितपुर(७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले प्री अन्तरवार्ता गराउँदै थियो । दुई दिनसम्म चल्ने अन्तवार्ता स्थालमा पूर्वमन्त्री श्रेष्ठ र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलको ब्यानर राखिएपछि विवाद उत्पन्न भएको स्थानीय रामपाल साहले बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भइसकेका श्रेष्ठले चुनावी प्रचारमा म्यानपावर कम्पनीको प्रयोग गर्नुभएको हो । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीका प्रशासन प्रमुख विवेक शर्माले पूर्वश्रममन्त्री श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम अन्तरवार्ता राखिएको जानकारी दिनुभएको छ ।

शर्माका अनुसार प्रि अन्तरवार्तामा छनौंट भएकाहरुलाई अर्को अन्तरवार्ताको लागि दुई दिनपछि काठमाण्डौंमा बोलाइने र तीन महिनाको प्रक्रियापछि मलेसिया पठाईने बताइएको छ । मतदातालाई प्रभावित पार्ने उद्देश्य सहित उम्मेदवारको चुनावी ब्यानरमुनि अन्तवार्ता राखिएपछि एमाले लगायत अन्य राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरितका कार्य गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले उम्मेदवारको ब्यानर र पार्टीको झण्डा हटाउँन प्रहरी परिचालन गरिसकेको जानकारी दिनुभएको छ । फ्रि भिसा÷फ्रि टिकटमा मलेसियास्थित रोजगारदाता कम्पनी स्यारिकात सिन क्वङल प्लास्टिक इण्डष्ट्रिजमा रोजगारीको अवसर रहेको भन्दै इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले सात सय ५० जना कामदार माग गरेको सूचना निकालेको थियो । सोही सूचना बमोजिम निर्वाचनको समयमा उम्मेदवारको चुनावी ब्यानरमुनि अन्तरवार्ता राखिएको हो ।

उक्त कम्पनीले यसअघि तनँहुमा पनि अन्तरवार्ता राखेको थियो । तनँहु पूर्वमन्त्री श्रेष्ठको गृह जिल्ला हो । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठले सत्ता शक्तिको दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्न खोजेको स्थानीय रमेश साहले बताउनुभयो ।

अन्तर्वार्ताका लागि सर्लाही, मोरङ, सुनसरी सहिँत देशका विभिन्न स्थानबाट युवाहरु परवानीपुर आएका छन् । तर, म्यानपावर कम्पनीले भने बारा क्षेत्र नं.४ का युवाको मात्रै अन्तरवार्ता लिने भनेपछि अन्य जिल्लाबाट आएका युवाहरु अलपत्र परेका छन् ।

सर्लाहीको मलंगवाबाट आएका होजेन्द्रकुमार यादवले म्यानपावर कम्पनीले सूचना गरे बमोजिम आँफू आएको तर, यहाँ आएपछि निर्वाचन क्षेत्र नं.४ का युवाहरुको मात्रै अन्तरवार्ता लिने भनेपछि आँफूहरु अलपत्र परेको बताउनुभयो ।

अन्य जिल्लाबाट आएका युवालाई फर्काउँदै नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरु यतिबेला स्थानीय युवा खोज्न गाउँमा परिचालित भएका छन् । फ्रि भिसा, फ्रि टिकटमा मलेसिया लैजाने भन्दै गाँउबाट युवाहरु खोजेर अन्तरवार्तामा ल्याउँन समाजवादीका कार्यकर्ता परिचालित भएका हुँन् । चुनावी अभियानका क्रममा श्रेष्ठले बेरोजगार युवालाई आफ्नैं क्षेत्रमा रोजगारी दिने र रोजगारीको वातावरण बनाइदिने बताउने गर्नुभएको छ ।

Leave a Reply