कलैया,बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्लाभित्रका पत्रकार र संचारगृहको सुरक्षामा आफूहरु गम्भीर रहेको र यसको लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । पत्रकार र संचारगृहमाथि भएको आक्रमणको विरोधमा सोमवार ज्ञापन बुझाउन पुगेका बाराका पत्रकारसंग प्रजिअ अधिकारीले जिल्लाका पत्रकार र संचारगृहको सुरक्षाका विषयमा स्थानीय प्रशासन सचेत रहेको बताउनुभएको हो ।

राजसंस्थाको माग राख्दै काठमाडौंमा चैत १५ गते भएको आन्दोलनका क्रममा पत्रकारको ज्यान जाने गरी आगजनी र संचारगृहमा भएको तोडफोडको घटनाको विरोधमा देशभरका पत्रकार आन्दोलित छन् । उक्त घटनाको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापीरुपमा विरोधका कार्यक्रम गरिरहेको छ ।सोही कार्यक्रमअन्तर्गत नेपाल पत्रकार महासंघ बाराको नेतृत्वमा बाराका पत्रकारहरु सोमवार ज्ञापन बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ज्ञापन बुझ्दै प्रजिअ अधिकारीले जिल्लामा संचारकर्मीले निर्धक्क भएर काम गर्न सक्ने वातावरण रहेको बताउनुभयो । ‘निर्धक्क भएर काम गर्नुहोस् र असुरक्षित महसुस भएमा प्रशासनलाई खबर गर्नुहोस्’ प्रजिअ अधिकारीले भन्नुभयो, ‘पत्रकार र संचारगृहको सुरक्षामा हामी गम्भीर छौं ।’

पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको नेतृत्वमा पुगेको टोलीमा पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, बारा शाखाका पूर्वअध्यक्ष कमलकुमार उपाध्याय, पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य गोकुल घोरसाइने, भोजराज भट्टराई, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, प्रेस चौतारी नेपालका मधेस प्रदेश महासचिव दिवाकर भण्डारी, पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रियंका दास, सहसचिव दुष्यन्त चौधरी, बारा शाखाका पूर्वउपाध्यक्ष राकेश पाण्डे, प्रेस चौतारी नेपाल बाराका अध्यक्ष थानेश्वर सापकोटा, उपाध्यक्ष जिउतप्रसाद यादव, सहसचिव धिरेन्द्र तिवारी, प्रेस मञ्च नेपाल बाराका अध्यक्ष निखिल पासवान, पत्रकार अनिल पाण्डे, अनिलप्रित चौधरी, नविन चौधरी, नारायण पौडेल, इन्दिरा चौधरी, रञ्जना खतिवडा, शर्मालाल बैठालगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी पर्साका सञ्चारकर्मीहरूले पनि रजकको हत्यारा र सञ्चारगृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा सोमवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो। उनीहरूले घाइते पत्रकारहरूको निःशुल्क उपचार र सञ्चारगृहहरूमा भएको तोडफोड तथा आगजनीको क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेका छन्।पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले सञ्चारकर्मीहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले सरकारलाई सञ्चारकर्मीहरूको सुरक्षाको लागि तत्काल कदम चाल्न आग्रह गर्नुभएको छ ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकारहरूको मागलाई सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रशासन र सरकार पत्रकारहरूको साथमा रहेको बताउनुभएको छ ।

Leave a Reply