बारा,
नेकपा एमाले प्रवेश गरेसंगै चर्चामा रहनुभएका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बाराको पचरौतामा एमालेका नेता कार्यकर्ताले ५१ किलोको माला लगाएर स्वागत गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल पचरौता नगर कमिटीको प्रथम अधिवेशन तथा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुन बारा आउनुभएका खनाललाई ५१ किलोको मालाले स्वागत गरिएको हो । काठमाण्डौंबाट सडकमार्ग भएर आउनुभएका खनाल जामका कारण कार्यक्रम स्थलमा भने ढिलो आइपुग्नुभएको थियो । खनाललाई पचरौता नगरपालिकाका प्रमुख जलान्धर सिंह, वडाध्यक्ष लक्ष्मी यादवसहित नेताकार्यकर्ताले माला लगाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा सहभागी हुन खनाल शनिवार साँझ पचरौता आउनुभएको हो । ढिलै भए पनि कार्यक्रम स्थल पुग्नुभएका खनाललाई पचरौताका स्थानीय र एमाले नेताकार्यकर्ताले स्वागत गरेका हुन् ।

यसअघि युवा संघको प्रथम अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज बलवीर चौधरी, पचरौता नगरपालिकाका नगर प्रमुख सिंह, एमाले युवा नेता पुरुषोत्तम साह, उमेश कुशवाहालगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई नेता चौधरीले स्वागत गर्नुभएको थियो ।

यसैगरी शुभकामना आदनप्रदानपछि सम्पन्न अधिवेशनले सुनिलकुमार यादवको अध्यक्षतामा ४७ सदस्यीय राष्ट्रिय युवा संघ पचरौता नगर कमिटी गठन गरेको छ ।

Leave a Reply