जनकपुरधाम, पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या जग्गा विवादका कारण भएको खुलेको छ । ६ साउनको राति सर्लाहीको चन्द्रपुर नगरपालिका– १ रत्नपुरस्थित आफ्नै घरमा रायको हत्या भएको थियो ।उहाँको हत्या आरोपमा प्रहरीले उहाँकै घरमा काम गर्ने २५ वर्षीय रामउजैन राय र छिमेकी ४६ वर्षीय वीरेन्द्र राय यादवलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार हत्याको योजनाकार छिमेकी वीरेन्द्र हुन् । उनकै योजना र प्रलोभनमा कामदार रामउजैनले पूर्वराज्यमन्त्री रायको हत्या गरेको प्राप्त प्रमाण र अनुसन्धानबाट पुष्टि भएको डीएसपी श्रेष्ठले बताउनुभयो ।प्रहरीका अनुसार करिब १ महिना अघि पूर्व राज्यमन्त्री रायका छिमेकी वीरेन्द्रले राम उजैनलाई रायको घर जग्गाको नक्सा झुक्याइ मागेर फोटो भिडियो बनाएका थिए । वीरेन्द्रले पूर्व राज्यमन्त्री रायको पक्की घर आफ्नो जग्गा मिचेर बनाएको आरोप लगाउँदै आएका थिए ।

















