कलैया,दुव्र्यसनी नियन्त्रणको लागि झाडी, मठ मन्दिर, जिर्ण रहेको भवन र प्रयोगबिहीन शौचालयहरुमा निगरानी बढाउनुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालय, बाराको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय र बारा उद्योग वाणिज्य संघको सहयोग एवं समन्वयमा बिहीवार कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयमा आयोजित लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘लागु औषध सेवन गर्ने दुव्र्यवसनीहरु प्राय झाडी, मठ मन्दिर, जीर्ण रहेको भवन तथा एकान्तस्थलमा बस्छन, प्रजिअ अधिकारीले भन्नुभयो, नियन्त्रणको लागि पनि त्यस्ता स्थानमा निगरानी बढाउनुपर्छ ।’लागुऔषध सेवनकर्ता वा त्यसको कारोबार गर्ने व्यक्तिको मनोविज्ञान सामान्य मान्छेको भन्दा फरक हुने भन्दै उहाँले त्यस्ता व्यक्तिहरु खुलेयाम हिड्डुल गर्न नसक्ने बताउनुभयो । प्रजिअ अधिकारीले लागु औषध, गुट्खा, सूर्ति, मदिरा लगायतका सेवनहरु आजैबाट छोडन आग्रह पनि गर्नुभएको छ ।

“स्वास्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता ः लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता“ भन्ने नाराका साथ बारा जिल्लामा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम गरिएको हो ।कार्यक्रमका सहभागीहरूले लागु औषधको दुरुपयोगबाट उत्पन्न हुने सामाजिक, मानसिक, शारीरिक र आर्थिक क्षतिको विषयमा धारणा व्यक्त गर्दै यस विरुद्ध सामूहिक अभियान चलाउनु पर्नेमा बारेमा जोड दिएका थिए ।

Leave a Reply