सिमरा,प्रहरीले स्रोत नखुलेको १३ लाख नगदसहित सिमराबाट शुक्रवार एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का २० वर्षीय सुरज कुशवाहा रहेका छन् ।ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीको नेतृत्वमा रहेको प्रहरी टोलीले कुशवाहालाई सिमराको एयरपोर्ट रोडबाट पक्राउ गरेको हो । कुशवाहाले बोकेको झोलाबाट १३ लाख सात हजार पाँच सय रुपैया बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुशवाहाको झोलाबाट एक हजार दरका एक हजार सतसठ्ठी थान, पाँच सय दरका चार सय ८० थान र एक सय दरका पाँच थान नोट बरामद गरिएको छ ।कुशवाहाको साथबाट विभिन्न कम्पनीको बिल, भौचर, कागजातहरू र सागर मनी ट्रान्सफर वीरगञ्ज लेखिएको स्टाम्पसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । कुशवाहाले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले हुण्डीको कारोवारको रकम हुनसक्ने आशंका गरेको छ ।स्रोत नखुलाएका कारण हुण्डी कारोबारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।



















