निजगढ,निजगढ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विकास निर्माणका योजनाहरूको आयोजनास्थलमा अनिवार्य रुपमा सूचना पाटी राख्न उपभोक्ता समितिहरूलाई निर्देशन दिएको छ ।नगरपालिकाले एउटा सूचनामार्फत आयोजनास्थलमा अनिवार्य रुपमा सूचना पाटी राख्न शुक्रवार उपभोक्ता समितिहरूलाई निर्देशन दिएको हो । सो सूचनाको बोधार्थ सबै वडा कार्यालय र कार्यालयको प्राविधिक शाखामा पनि पठाइएको जनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल र अधिकृत (सातौँ तह) अजयकुमार उप्रेतीले हस्ताक्षर गरेको सूचनामा नगर र वडास्तरीय योजनाहरू कार्यान्वयन गर्ने क्रममा “उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६” को अनुसूची ५ बमोजिम सूचना पाटी राख्नुपर्ने कानुनी व्यवस्था भए पनि कतिपय स्थानमा यसको पालना नगरेको गुनासो आएको जनाइएको छ ।
निजगढ नगरपालिकाले उपभोक्ता समितिहरूलाई यस्तो लापरबाही नगर्न र तुरुन्त सूचना बोर्ड राख्न सूचित गरेको हो । साथै, निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गरी सम्झौताअनुसार फाइल पेस गर्न समेत आग्रह गरिएको छ ।
योजना कार्यान्वयनमा स्थानीय सरकारसँगै मधेश प्रदेश सरकारबाट समेत विभिन्न योजना ल्याई निर्माण कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारको समन्वयमा आएको योजनामा समेत उपभोक्ता समितिले नियमानुसार सूचना पाटी राख्नुपर्ने र समयमै काम सम्पन्न गर्नु आवश्यक रहेको नगरपालिकाले स्पष्ट पारेको छ ।
मधेश प्रदेश सरकारबाट समेत विभिन्न योजना ल्याई नगरपालिका र स्थानीय जनतालाई जानकारी नदिई उपभोक्ता समिति गठन गरी काम अघि बढाइएको अवस्थामा नगरपालिकाले सार्वजनिक पारदर्शिता र नागरिकको सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सूचना पाटी राख्नुपर्ने नियम लागू गरिएको स्पष्ट पारेको छ ।विकास निर्माण कार्यका क्रममा सूचना पाटी नदेखिएमा सर्वसाधारणले स्थानीय सरकारका प्रतिनिधिलाई जानकारी गराई निमार्ण कार्यलाई पारदर्शी र गुणस्तरीय रुपमा सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरेको नगरपालिकाले जनाएको छ ।















