राजनकुमार बनिया
पोखरिया,पर्साको पोखरियामा बिहीवार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पोखरीया नगरपालिका वडा नम्बर ४ स्थित नहरछेउको सडकमा बिहीवार बिहान साढे १० बजे विपरित दिशामा रहेका ना ३ प १०२६ र प्रदेश २–०३–००४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्साको धोबीनी गाँउपालिका वडा नम्बर २ गुलरीयाका ३५ वर्षिय ललन पटेल र पर्साकै सखुवा प्रसौनी वडा नम्बर ५ एकडरवाका २९ वर्षका हसिन्दर सहनी रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार रहेका धोेबीनी गाउँपालिका वडा नम्बर २ का ३० वर्षिय रोजदिन मिया, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ एकडरवाका रन्जित महत्तो र सोहि ठाँउका १९ वर्षिय सुपेन राउत गम्भिर घाइते भएका छन् ।
घाइते तीनै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिनुभयो । तीव्र गतिमा रहेका दुवै मोटराइकल आपसमा ठोक्किएर दुर्घटना भएको खनालले बताउनुभयो ।