निजगढ,बाराको निजगढ नगरपालिका वडा वडा नम्बर ११ रतनपुरमा मानव वन्यजन्तु द्वन्द न्युुनीकरण सम्बन्धि एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।सव डिभिजन वन कार्यालय रतनपुरीअन्तर्गतका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताहरुबीच शनिवार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
रतनपुरी सव डिभिजन वन कार्यालयको आयोजनामा भएको सो गोष्ठीमा प्रमुख अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले पर्यवरण संरक्षणमा सबैको उत्तिकै र महत्वपुर्ण भूमिका रहने बताउनुभयो ।वन र वन्यजन्तुको संरक्षण गरेमा मात्र मानव जातिको पनि अस्तित्व रहने बताउदै प्रमुख अतिथि थिङ्गले मानव जीवनको लागि पनि वन्यजन्तुको संरक्षण अति जरुरी रहेको बताउनुभयो । उहाँले पृथ्वीमा सबै प्राणीहरुको बाच्न पाउने अधिकार समान रहेका र यो तथ्यलाई सचेत नागरिकले मनन गर्नुपर्ने बताउनुभयो । उपप्रमुख थिङ्गले कतिपय अवस्थामा वन्यजन्तुले समुदायमा पु¥याएको पशु चौपायाको क्षतिपूर्तिबापत पाउनुपर्ने राहत वितरणमा विद्यमान कानुन बाधक रहेको पनि बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय पर्सा निकुञ्जका रतनपुर रेन्जर लक्ष्मणकुमार महतोले स्लाइडमार्फत मानव वन्यजन्तुबीच हुने द्वन्द न्युनीकरणको उपाय बारे जानकारी गराउदै पाटेबाघको संरक्षण गरेमा हुने फाइदा र स्थनीयबासीले वन्यजन्तुबाट हुने क्षतिबारे अपनाउने पर्ने सावधानीको विषयमा जानकारी गराउनुभएको थियो ।कार्यक्रममा मधुवन सव डिभिजनका इन्चार्ज संजयकुमार चौधरी, कलैया सव डिभिजनका इन्चार्ज सन्दीप पटेल र निजगढ नगरपालिकाका सहायक वन अधिकृतलगायतले सहभागीहरुलाई स्लाईडमार्फत वन्यजन्तु संरक्षणको बारेमा जानकारी गराएका थिए । मानव र वन्यजन्तुबीचको द्वन्द न्युनीकरण गर्न मानिसको भूमिका महत्वपूर्ण हुने बारेमा कार्यक्रममा जोड दिइएको थियो ।
कार्यक्रममा सहभागीहरुले विभिन्न विषयहरुमा जिज्ञासासमेत राखेका थिए ।सव डिभिजन रतनपुरीका प्रमुखको अध्यक्षतामा भएको सो कार्यक्रम रेन्जर निरज साहले संचालन गर्नुभएको थियो ।
















