निजगढ,पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया–हेटौंडा–नारायणघाट १०० किलोमिटर सडक खण्ड स्तरोन्नति गरिने भएको छ । दुई लेनको सो सडकलाई चार लेनमा स्तरोन्नति गर्ने तयारी भएको हो ।परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तयार गर्नका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो जानकारी दिइएको हो । सडक विभाग, आयोजना निर्देशनालय (ए.डि.बि.), बिशालनगर, काठमाडौँको प्रस्तावमा जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको सभाहलमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दा, सरोकार निकाय तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति थियो।
सो सडक अन्तर्गत शहरी क्षेत्रमा सडकको चौडाई ५० मिटर, अर्धशहरी क्षेत्रमा ३७.४ मिटर र ग्रामीण तथा बन क्षेत्रमा २४ मिटर कायम गरिनेछ।स्तरोन्नति प्रक्रिया अन्तर्गत १३ स्थानमा जङ्सन सुधार, दुबै छेउ सर्भिस रोड, साइकल लेन, शहरी क्षेत्रमा फुटपाथ र पैदल यात्रुहरूका लागि ७ स्थानमा आकाशे पुल, १२ स्थानमा अन्डरपास, २० स्थानमा बन्यजन्तु क्रसिङ्ग र २२ नयाँ पुल निर्माण गरिनेछ।यसैगरी २४८ स्थानमा बक्स कल्भर्ट, १७८० स्थानमा सडक बत्ती र २ भ्याडक्ट निर्माणको योजना पनि परियोजनाले अघि सारेको छ। कुल लागत ५० अर्ब ७ करोड रुपैयाँभन्दा बढी अनुमान गरिएको यो सडक स्तरोन्नति परियोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार, सडक स्तरोन्नति क्रममा बारा जिल्लाबाट ६,९८१ रुख, मकवानपुरबाट ७,०९८ रुख र चितवन जिल्लाबाट २,०७८ रुख कटान गरिनेछ।
परियोजनाबाट प्रभावित स्थानीय समुदाय, वातावरण, वन्यजन्तु, जलस्रोत र स्वास्थ्य क्षेत्रमा पर्न सक्ने सम्भावित प्रभावबारे सरोकारवालाहरुबाट सुझाव र धारणा संकलन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले सडक स्तरोन्नतिपछि आउने आर्थिक फाइदा, आवागमन सहजता र विकासका सम्भावनासँगै पर्यावरणीय जोखिमप्रति पनि चिन्ता व्यक्त गरेका थिए।
सडक विभागले संकलित सुझावहरूलाई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा समावेश गरी परियोजना कार्यान्वयन अघि आवश्यक वातावरणीय स्वीकृति लिने प्रक्रियामा अगाडि बढ्ने जानकारी दिएको छ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई, वडा अध्यक्षहरू तथा वातावरण र वनसँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति थियो।



















