काठमाडौं । सरकारले बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले आज र भोलि देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

कार्यक्रम सफल बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । थापाले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकको पायक पर्ने स्वास्थ्य केन्द्र वा तोकिएको वितरण केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गरेका छन् ।

सरकारले बालबालिकामा कुपोषण तथा विभिन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ ।

नेपालमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम वि.सं. २०५० देखि र जुकाको औषधि खुवाउने कार्यक्रम वि.सं. २०५६ देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।

Leave a Reply