निजगढ,सरुवा सहमति नदिएको भन्दै केही स्थानीयले गत मंगलवारबाट तालाबन्दी गरेको निजगढ नगरपालिका १० लालस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षकहरुले बिहीवारबाट पठनपाठन बन्द गर्ने निर्णय गरेका छन ।
विद्यालयका शिक्षक÷कर्मचारीहरुले बैठक बसेर स्थानीय केहीले विद्यालयका प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा गरेको तालाबन्दी नखुलेसम्म पठनपाठन ठप्प गर्ने निर्णय गरेका हुन । बैठकले प्रधानाध्यापक साहको कार्यकक्षमा तालाबन्दी भएपछि पठनपाठनको लागि वातावरण असहज बनेकोले कार्यकक्षको ताला नखोलिएसम्म पठनपाठन गर्न नसकिने निर्णय गरेको विद्यालयका शिक्षक रामबाबु प्रसाद बैरेले बताउनुभयो । पठन पाठनको लागि वातावरण निर्माण गरिदिन उहाँले अभिभावक र जनप्रतिनिधिहरुसंग आग्रह पनि गर्नुभएको छ ।
आधारभूत तहको लागि शिक्षक सेवा आयोगको परीक्षा उर्तिण गरेका २ जना शिक्षकहरुलाई जिल्ला शिक्षा समन्वय ईकाइको सिफारिसमा निजगढ नगरपालिका शिक्षा शाखाले सो विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेपछि असन्तुष्ट बनेका स्थानीय केहीले प्रअ साहको कार्यकक्षमा तालबान्दी गरेका छन । उनीहरुले शिक्षा समितिबाट पदस्थापना गरिएका शिक्षकहरुको साटो निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालस्थित भगवती आविका प्रधानाध्यापक उदयराज अधिकारीलाई विद्यालयमा सरुवा गरेर हाजिर गराउनुपर्ने माग गरेका छन ।विद्यालय प्रशासनले भने सरुवा प्रक्रिया पूरा नभएको र नगर शिक्षा समितिले पदास्थपना गर्ने निर्णय गरेका शिक्षकहरुलाई पहिले हाजिर गराउनु पर्ने भएकोले सरुवा हुन खोज्ने अर्का शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिएको जनाएको छ । अधिकारीले आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भएपनि हाजिर हुन आउने भनिएको सो विद्यालयबाट भने कुनै सहमति लिनुभएको छैन ।
‘सहमति पत्र माग गर्न आउनुभएको थियो, प्रधानाध्यापक साहले भन्नुभयो, तर विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएकोले सहमति दिन सकिएन ।’ उहाँले व्यवस्थापन समितिको निर्णय बेगर प्रअ एक्लैले सरुवा सहमति दिन नमिल्ने पनि बताउनुभएको छ ।
विद्यालयमा अभिभावकबाट चुनिने ४ जना सदस्यको चयन भइसकेको भए पनि व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको प्रअ साहले जानकारी दिनुभयो ।नगर शिक्षा समितिको गत चैत्र ३० गतेको बैठकले रेखा साह र लक्ष्मी रावललाई विद्यालयमा पदस्थपाना गर्ने निर्णय गरेको थियो ।विद्यालयमा शिक्षक पदस्थापना र सरुवा गर्ने विषयमा विवाद बढेपछि साह र रावलले विद्यालयमा हाजिर गर्नपाएका छैनन ।निजगढ १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले विद्यालय जस्तो पवित्र संस्थामा तालाबन्दी गर्नु राम्रो कार्य नभएको बताउनुभएको छ । उहाँले शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर आएका शिक्षकको पदस्थापन गर्ने निर्णय गरेकोले सो निर्णय परिवर्तन नभएसम्म शिक्षक अधिकारीलाई सरुवा गरेर ल्याउन नमिल्ने बताउनुभयो ।विद्यालयमा हाल ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन ।

















