काठमाण्डौं,नेपाली कांग्रेशको सस्थापन पक्षले अवैधानिक तरिकाले क्रियाशील सदस्य वितरण गरेको भन्दै बाराका सस्थापन ईतर कांग्रेशका नेता÷कार्यर्ताहरुले केन्द्रीय कार्यालय सानेपा ललितपुरमा मंगलबार पनि धर्ना जारी राखेका छन । पालिकाको वडा कार्यसमितिले सिफारिस गरेका, पुराना र क्रियाशील कार्यकर्ताहरुको सदस्यता नवीकरण नगरेर एकलौटी ढङ्गले जिल्ला सभापती र क्षेत्रीय सभापतीहरुले केन्द्रीय कार्यालयमा क्रियाशील सदस्य वितरणको लागि सिफारिस गरेको भन्दै विरोधमा उनीहरुले केन्द्रीय कार्यालयमा धर्ना दिदै आएका हुन । गत आषाढ २७ गतेदेखि जारी धर्ना तेस्रो दिन मंगलबार पनि जारी छ । क्रियाशील सदस्य वितरण गर्दा वडा कार्यसमितिले सीफारिस गरेकाहरुलाई मात्र समावेस पर्ने र समायोजन, अन्य पार्टीबाट प्रवेश गरेकाको नामबाट अनाधीकृत रुपमा वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने, नियतबस नवीकरण नगराइएका क्रियाशील सदस्यहरुको सदस्यता नविकरण गर्नुपर्ने, किर्ते माईन्युट बनाउनेहरुलाई पार्टीले कारबाही गर्नुपर्ने लगायतको माग राखेर धर्ना दिइएको र धर्नामार्फत आफना मागको सुनुवाई नभए केन्द्रीय कार्यालयअगाडि अनसन बस्न तयार रहेको धर्नामा सहभागी नेता तथा कार्यकर्ताहरुले जनाएका छन । शान्तिपूर्ण रुपमा धर्नामा बस्दा पनि माग पूरा नभए अनसन बस्न समेत तयार रहेको धर्नामा सहभागी महाधिवेशन प्रतिनिधि तथा निजगढका मेयर सुरेशकुमार खनालले बताउनुभयो । पार्टीलाई एकलौटी ढङ्गले कब्जा गर्ने नियतले आफुहरुको क्रियाशील सदस्यता नविकरण नगरेको बताउनुहुदै मेयर खनालले त्यस्ता गतिविधि गर्ने जो कोहिलाई पनि पार्टीले कारवाही गर्नुपर्ने बताउनुभयो । वडा कार्यसमितिले सिफारीस गरेर पठाएको नाम काटेर आफ्नो आफन्त, आसेपासेहरुको नाम राख्नु खेदजनक कार्य भएको महाधिवेशन प्रतिनिधि समेत रहनुभएका अर्का कांग्रेश कार्यकर्ता पेमासिद्धी लामाले बताउनुभयो । वडा कार्यसमितिले सिफारीस गरेको नाममा टिपेक्स लगाएर आफू अनुकुलको व्यक्तिको नाम सिफारिस गरेको भन्दै त्यस्ता किर्ते गर्नेहरुलाई कारवाही गर्नुपर्ने लामाले पनि बताउनुभयो ।
अन्य पार्टीबाट प्रवेश गरेको र पार्टी एकीकरणमा समायोजनको नाममा हचुवाको भरमा अन्य पार्टीका बहालवाला पदाधिकारीहरुलाई समेत क्रियाशील सदस्य वितरण गर्नु लज्जास्पद विषय समेत रहेको उहाँको धारणा छ ।
धर्नामा संविधानसभा सदस्य तथा कागेस बाराका पुर्वसभापति लालबाबु सिंह, निजगढका मेयर खनाल, काङ्ग्रेस निजगढका सचिव आशिष तामाङ्ग लगायत अन्य अगुवा नेता तथा कार्यकर्ताहरुको नियतवस सदस्यता नवीकरण नगरेको धर्नामा सहभागी नेपाली कांग्रेशकी महाधिवेशन प्रतिनिधि माला लामाले बताउनुभयो ।
धर्नामा संविधान सभा सदस्यद्वय लालबाबु सिंह, रामायोध्याप्रसाद यादव, काग्रेश नेता रामानन्द यादव, निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल, महागढिमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादव, नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियार, जिल्ला पार्टी सचिव मनोज भट्ट लगायत नेपाली काग्रेश बाराका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । धर्नामा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु डा.शेखर कोईराला, डा.रामशरण महत, सितादेवी यादव लगायत नेताहरु सहभागी भएर ऐक्यबद्धता जनाएका छन ।
नेपाली कांग्रेश बाराका सभापती जयचन्द्र चौरसिया, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बिजयशंकर यादव, बाराका संगठन विभाग प्रमुख शम्भुबहादुर बुढाथोकी लगायत अन्य केही व्यक्तिको समूहले पार्टीभित्र अराजक गतिविधि सृजना गरेको पिडित नेता तथा कार्यकर्ताहरुको गुनासो छ ।