कृष्ण मोहन साह
सेढवा,पर्साको ग्रामीण भेगमा किसानहरू मकैखेतीतर्फ आकर्षित भएका छन् । यस क्षेत्रको ठोरी, जीराभवानी, सखुवाप्रसौनी, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिका र वीरगञ्ज महानगरपालिकाका केही वडाहरूमा समेत विगतका तुलनामा मकैखेती गर्ने क्षेत्रफलसंगै किसान पनि बढेकाछन ।

पटेर्वासुगौली गाउँपालिकाको कृषि शाखाका प्राविधिक गोविन्दभैया थारूका अनुसार यस वर्ष पालिकाद्वारा ५० प्रतिशत अनुदानमा छ क्वीन्टल हाइब्रिड ३३५५ जातको मैकको बीउ वितरण गरिएको छ । गत वर्ष चार क्वीन्टल बीउ वितरण गरिएको प्राविधिक थारूले बताउनुभयो । पालिकाभरिमा लगभग ५० बिघा क्षेत्रफलमा मकैखेती गरिएको प्राविधिक थारूले जानकारी दिनुभयो । यसबाहेक किसानहरू आफैंले भारतीय तथा नेपाली बजारबाट बीउ खरीद गरी मकैखेती गरेको थारूको भनाई छ ।
जीराभवानी गाउँपालिका वडा नम्बर १ शान्तिनगरका रविमोहन सापकोटाले तोरीबालीपछि खेत खाली भएका किसानहरूले थप एक बाली मकैखेती गर्ने गरेको बताउनुभयो । मकैखेती गर्न सजिलो भएको र उत्पादन पनि राम्रो भएकोले किसानहरू मकैखेतीतर्फ आकर्षित भएका सापकोटाको भनाई छ ।

मकैखेतीबाट किसानले प्रतिकट्ठा तीनदेखि चार क्वीन्टल मकै उत्पादन गर्ने सक्ने र अहिले मकैको बजार मूल्य चार हजार रुपियाँ प्रतिक्वीन्टल रहेको सापकोटाले जानकारी दिनुभयो ।

ग्रामीण भेगमा संचालनमा आएका गाई र भैंसी फर्ममा मकै दानाको रूपमा प्रयोग हुन थालेको छ । मकैबाली बोटसहित खरीद हुने हुँदा झनै सहज भएको किसानहरूले बताएका छन । फर्महरूले खेतबाटै मकैबाली काटेर ट्याक्टरमा लोड गरी लैजाने गरेको र सो बाली चारदेखि साढे चार रुपियाँ प्रतिकिलोको दरमा बिक्री हुने गरेको किसानहरूले जानकारी दिएकाछन ।

Leave a Reply