वीरगञ्ज,पर्साको सखुवा प्रसौनी गाउँपालिका– ४ को वडा कार्यालयमा मंगलवार राति तोडफोड गरी ल्यापटप चोरी भएको छ ।रातको समयमा कार्यालयको ताला फोडेर भित्र प्रवेश गरेको एउटा समूहले कार्यालयको कुर्सी, टेबल, पंखा, दराज लगायत सामग्रीमा तोडफोड गर्नुका साथै महत्वपूर्ण कागजात, छाप र ल्यापटप चोरी गरेको वडा अध्यक्ष आरिफ अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार तोडफोडबाट १२ वटा कुर्सी र ३ वटा दराज पूर्णरूपमा नष्ट भएका छन् ।
घटनाबारे जानकारी दिँदै गाउँपालिका अध्यक्ष जसवन्त यादवले उक्त समूहले एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस नदिएको झोकमा तोडफोड गरेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । “वडाध्यक्ष ज्यूमाथि भारतीय नागरिकको सिफारिस गर्न दबाब आएको भन्ने सुनेको थिए, उहाँले भन्नुभयो, सोही समूहले नै तोडफोड गरेको हुनसक्ने र उनीहरुमाथि कानुनी कारबाहीको लागि मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।’

वडा अध्यक्ष अन्सारीले पनि आफूलाई छ महिनादेखि सिफारिसका लागि लगातार धम्की आइरहेको उल्लेख गर्दै सोही समूहले नै राति आएर कार्यालय तोडफोड गरेको हुनसक्ने बताउनुभयो । उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दायर गर्ने तयारी भएको उहाँ जानकारी दिनुभयो ।घटनापछि प्रहरीको टोली तत्कालै घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको पर्साका एसपी गौतम मिश्रले जानकारी दिनुभयो । हाल तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply