आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ बजारका व्यपारी र कृषकहरु प्रहरी ज्यादतिको विरुद्धमा बिहीवार सिम्रौनगढमा आन्दोलन शुरु गरेका छन ।घुमुवा प्रहरीले बिना कारण आफूहरुलाई दुःख दिने गरेकोभन्दै उनीहरुले बजारका विभिन्न स्थानमा टायर बालेरपसल बन्द गराएका थिए ।
किसानहरुको लागि भारतबाट रसायनिक मल ल्याउने व्यवसायी र किसानहरुलाई जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सो क्षेत्रका अन्य चौकीका घुमुवा प्रहरीले अनावश्यक दुःख दिने कार्यको विरोधमा आन्दोलनमा उत्रिनु परेको बारा उद्योग बाणिज्य सघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले बताउनुभयो ।
सिम्रौनगढ छोटी भन्सारको स्तरोन्नति र पुनः सञ्चालनको माग राखेर व्यवसायी र किसानहरुले शुरु गरेको आन्दोलनका सहभागीहरुले प्रहरी ज्यादति मुर्दावाद, छोटी भसार सिम्रौनगढ सञ्चालन गर, सिम्रौनगढ छोटी भन्सारको स्तरोन्नति गर, कृषि कार्यको लागि मल खाद र बिउ सहज रुपमा उपलब्ध गरलगायतका नाराहरु लगाएका थिए ।मधेसका किसान यतिबेला सुखा (खडेरी) का कारण समस्यामा परेका छन । यस क्षेत्रमाअहिलेसम्म ७० प्रतिशत जमिनमा पनि धान रोपाइँ भएको छैन । बोरिङ्गको सिँचाइको पानी प्रयोग गरेर रोपाइँ गर्ने केही किसान पनि सहज रुपमा रसायनिक मलखाद,बिउ र किटनासक औषधि पाउन नसक्दा थप समस्यामा छन । ‘एकतर्फ आकाशबाट पानी नपरेर समस्या छ, अर्को तर्फ पुलिसले मलखाद, बिउबिजन र औषधि ल्याउन दिदैन, स्थानीय एक किसानले भने, यस्तो अवस्थामा प्रहरी विरुद्ध आन्दोलन गर्न बाध्य भएका छौ ।
त्यसैगरी आन्दोलनकारी व्यवसायी र किसानहरुले आफूहरुको माग पुरा नभए शुक्रवारबाट आन्दोलन थप कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन । अध्यक्ष कुशवाहाका अनुसार माग पुरा नभए चक्का जाम र अनिश्चितकालिन बजार बन्द गरिने छ ।
















