काठमाण्डौं,बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन शुरू भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विपक्षीहरूले बुधवार राति उहाँका पिता शेख मुजिबुर रहमानको ढाकामा रहेको घरमा आगो लगाएर ध्वस्त पारेका छन् ।उनीहरुले बुधवार बेलुकादेखि देशभरि शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका बीबीसीले जनाएको छ । उनीहरुले शेख मुजिबुर रहमानको भित्ते चित्रहरू बिगारेका थिए ।
भारतमा रहनुभएका शेख हसिनाको अनलाइन कार्यक्रमअघि हिंसा शुरू भएको थियो । शेख हसिनाको बङ्गलादेश विरोधी गतिविधिका कारण प्रदर्शन भएको बङ्गलादेशका सञ्चार माध्यमले बताएका छन् ।शेख हसिनाका विपक्षीहरूले उनी भारतमा बसेर बङ्गलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै आएका छन् ।गएको वर्ष बङ्गलादेशमा आरक्षणविरुद्ध विद्यार्थीको हिंसात्मक प्रदर्शनपछि शेख हसिनालाई देश छाडेर भारत जानुपरेको थियो ।

















