निजगढ,निजगढ नगरपालिकाको सहयोगमा मकैको खोस्टाबाट हस्तकलाका सामग्री बनाउने १ महिने तालिम आइतवारबाट शुरु भएको छ । तालिमको निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले उद्धाटन गर्नुभएको थियो ।निजगढ नगरपालिका उपमेयर महिला उद्धमशीलता प्रबद्र्धन कार्यक्रमअन्तर्गत कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र निजगढले आयोजना गरेको सो तालिममा निजगढका विभिन्न वडाका ३० जना महिलाहरुलाई मकैको खोस्टाबाट हस्तकलाका सामग्री निर्माण गर्ने सीप प्रदान गरिने कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रका प्रबन्धक सरोज कोइरालाले बताउनुभयो । सहभागीहरुलाई १ महिनासम्म खोस्टाबाट ह्याट, ब्याग र अन्य सामग्री निर्माण गर्ने तरिका बारे जानकारी दिइने तालिमकी प्रशिक्षक गोमा कुँवरले बताउनुभयो ।

सहभागीहरुले तालिमपछि उत्पादन गरेका सामग्रीहरु काठमाण्डौंको ओम राजश्री मल्टी एग्रो प्रालिले खरिद गर्ने पनि जनाइएको छ । सहभागीहरुले तयार पारेको हस्तकलाका सामग्रीहरु ओम राजश्री काठमाण्डौंले खरिद गर्ने बारेमा निजगढ नगरपालिकासंग संझौता भएको कुशल परामर्शका कोइरालाले जानकारी दिनुभयो ।तालिममा निजगढ नगरपालिका कार्यपालिका सदस्य मैया सुनार, राजश्रीकी कोअर्डिनेटर बालकुमारी कुँवरलगायतले तालिमको महत्वको बारेमा बोल्नुभएको थियो ।



















