निजगढ,बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले निजगढको रतपुरले नेपाल राष्ट्र निर्माणमा ऐतिहासिक महत्व बोकेको बताउनुभएको छ ।निजगढ नगरपालिका वडा नम्बर ११ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५९औं जन्मजयन्ति तथा अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद मैनालीले बिहीवार सो कुरा बताउनुभएको हो ।

४ सय वर्षअघि अंग्रेजसंगको युद्धमा नेपाली सेनालाई आश्रय दिएर अंग्रेजहरुलाई पराजित गरेको र नेपाली भूमिको रक्षा गर्ने कार्यमा रतनपुरबासीहरुले सहयोग गरेको सांसद मैनालीको भनाई थियो । हालको बारा जिल्लाको बारागढीमा अंग्रेज सेनाले नेपाली मूमिमाथि आक्रमण गरेर नेपाली सेनालाई पराजित गरेको सुनाउदै उहाँले बारागढीमा पराजित भएपछि रतनपुरीमा आएर बसेका नेपाली सेनाले नयाँ रणनीतिका साथ पर्सा जिल्लाको पर्सागढी, बाराको बारागढी र रौतहट जिल्लाको समनपुरमा रहेका अंग्रेज सेनामाथि एकैपटक आक्रमण गरेर पराजित गरेको बताउनुभयो ।
‘अंग्रेज विरुद्धको युद्धमा नेपाली सेनालाई रासनपानी र बन्दोबस्तिका अन्य सामान जोहो गर्ने र सुरक्षा दिने स्थानीय बासिन्दा हाम्रो लागि गौरवका पात्र हुन, उहाँले भन्नुभयो, देशको भूमि रक्षा गर्न र सत्रु सेनालाई पराजित गर्न त्यतिबेलाका स्थानीयले ठूलो योगदान गरेका छन ।’अर्को प्रशङ्गमा सांसद मैनालीले व्यक्तिको जीवनमा परिवर्तन ल्याउन शिक्षाले नै सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने भएकोले विद्यालय शिक्षाको गुणस्तर बढाउन सबैको योगदान आवश्यक रहेको बताउनुभयो ।
‘समाज र राष्ट्रको विकासमा त्यो देशका नागरिकहरु कति ज्ञानी र चेतनायुक्त छन भन्ने कुराले निर्धारण गर्छ, उहाँले भन्नुभयो, त्यही ज्ञान र चेतना गुणस्तरीय शिक्षाबाट मात्रै प्राप्त हुन्छ ।’
गुणस्तरीय शिक्षाको लागि शिक्षक मात्रै नभएर समाजका सबै पक्ष उत्तिकै जिम्मेवार बन्नुपर्ने पनि उहाँले बताउनुभयो । ‘परीक्षामा विद्यार्थी असफल भएभने धेरैले शिक्षकहरुलाई मात्रै दोषी ठान्ने गरेका छन, सांसद मैनालीले भन्नुभयो, तर यसको लागि शिक्षकसंगै अभिभावक र विद्यार्थी पनि उत्तिकै जिम्मेवार छन ।’उहाँले विद्यार्थी जीवन नयाँ नयाँ कुरा सिक्ने र अनुभव गर्ने समय भएकोले विद्यार्थीहरुले लगनशील भएर ज्ञान गुणका कुरा सिक्न लाग्नुपर्ने पनि बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल रुम्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरो, नेकपा एमाले निजगढ नगर कमिटीका सचिव तिलक घलान, शंकर रुम्बालगायतले बोल्नुभएको थियो ।कार्यक्रममा विद्यालयका उत्कृष्ट अभिभावक र आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।प्रधानाध्यापक इन्ददेब यादलले संचालन गरेको सो कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले स्थानीय संस्कृति झल्कने गित तथा नृत्य प्रदर्शन गरेका थिए ।

















