सिमरा,बारा जिल्लाको जीतपुरसिरा उपमहानगरपालिकाको नितनपुरस्थित एक तेल तथा आटा उद्योगमा १७ वर्षीय किशोरको कुटपिटबाट मृत्यु भएको छ।शनिवार राति पर्सा जिल्लाको पोखरिया नगरपालिका–१ निवासी गोपी बैठामाथि सामान्य विवादपछि कुटपिट भएको र सोही कारण मृत्यु भएको मृतकका भाइ कृष्णकुमार बैठाले बताउनुभएको छ । कुटपिट गर्नेहरू नितनपुरस्थित बजरंगवली आयल इन्डस्ट्री चक्की फ्रेश आटा मिलमा कार्यरत भारतीय मजदुर तथा मुंशी रहेको उहाँको भनाई छ ।घटनापछि ईलाका प्रहरी कार्यालय सिमराले अनुसन्धानका लागि मुंशी दिनेश सिंहसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। तर, मुंशी सिंह र एक जना ड्राइभरलाई सामान्य सोधपुछपछि छाडिएको जानकारी प्राप्त भएको छ। अर्का एक भारतीय मजदुर तेजपाल राठौरलाई भने हिरासतमा राखिएको छ।इलाका प्रहरी कार्यालय सिमराका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। मृतकका परिवारले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।


















