गोकुल घोरसाइने
निजगढ,हालै संचालनमा आएको सिम्रौनगढ मालपोत कार्यालयबाट सेवा लिन अपायक परेको भन्दै सेवा क्षेत्रबाट हटाउनु पर्ने माग राखेर महागढीमाई नगरपालिका वडा नम्बर– ९ पिप्राबिर्ताका स्थानीय आन्दोलनमा उत्रिने भएका छन ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयमा ज्ञापनपत्र बुझाउदै माग पुरा नभए आइतवारबाट आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ । स्थानीयले ज्ञापनपत्रमार्फत सार्वजनिक गरेको आन्दोलनको कार्यक्रममा आइतवार बिहान १२ बजेदेखि १ बजेसम्म जिल्ला प्रशासन कार्यालय बारामा धर्ना, सोमवार मालपोत कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय कलैयासम्म विरोध प्रदर्शनपछि भरतचोकमा कोणसभा आयोजना गर्ने र मंगलवार बिहान ११ बजेदेखि १२ बजेसम्म भूमि सुधार तथा मालपोत कार्यालय कलैयाको कामकाज ठप्प पार्ने जनाइएको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिलिप शुक्लाको नेतृत्वको टोलीले यसअघि सेवा प्राप्त गर्दै आएको कलैयास्थित मालपोत कार्यालयबाट नै सेवा उपलब्ध गराउनु पर्ने माग गर्दै बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण अचार्य र मालपोत कार्यालय कलैयाका प्रमुख गोपालप्रसाद बराललाई शुक्रवार ज्ञापनपत्र बुझाएको थियो ।
कलैयास्थित जिल्ला मालपोत कार्यालयबाट हटाएर हालै संचालनमा आएको सिम्रौनगढ मालपोत कार्यालयको सेवा क्षेत्रमा राखिएकोमा पिप्राबिर्ताबासीले विरोध गर्दै आएका छन । साविकको पिप्राविर्ता गाविसबाट १० मिनेटमा नै पुग्न सकिने कलैयाबाट हटाएर १ घण्टाभन्दा बढी समय लाग्ने सिम्रौनगढमा राखिएकोमा उनीहरुले असहमति जनाउदै आएका छन ।
त्यसैगरी सिम्रौनगढ मालपोत कार्यालयको सेवा क्षेत्रभित्र राखिएपछि जिल्लाको देवताल गाउँपालिकाका केही वडाका बासिन्दालाई पनि सेवा अपायक भएको गाउँपालिकाका अध्यक्ष उदयचन्द्र यादवले बताउनुभएको छ ।
अध्यक्ष यादवले पालिकामा पर्ने साविकको पिप्राढी, दक्षिणझिटकैया र बड्कीफुलबरिया गाविसलाई सिम्रौनगढमा राखेपछि असुविधा भएको बताउनुभएको हो । उहाँले पनि यसअघि सेवा लिदै आएको कलैया मालपोतबाट नै सेवा प्राप्त गर्ने व्यवस्था मिलाउनु पर्ने माग गर्नुभएको छ । उहाँले कार्यालयको उद्धाटन गर्न बुधवार सिम्रौनगढ आइपुग्नुभएकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठलाई भेटर असहमति पत्र बुझाउनुभएको थियो ।
जिल्लाको सिम्रौनगढ, आदर्शकोतवाल, देवताल, सुवर्ण गाउँपालिका र महागढीमाई नगरपालिकालगायत ६ वटा पालिकालाई कार्यालयको सेवा क्षेत्रभित्र राखिएको छ ।
देवतालबाट कलैयाको दुरी १० किमी मात्रै छ भने सिम्रौनगढ पुग्न स्थानीयले २० किमी दुरी पार गर्नुपर्ने हुन्छ ।



















