सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम शनिवार सार्वजनिक गरिएको छ । अमलेखगञ्जमा आयोजित आठौं नगरसभामा नगर प्रमुख राजन पौडेलले आगामी वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।‘आत्मनिर्भर, सक्षम एवम् जनमुखी स्थानीय सरकार, समृद्धिपूर्ण सुशासन जीतपुरसिमराको आधार’ को परिकल्पना गर्दै नगर प्रमुख पौडेलले २० पृष्ठ लामो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरसभामा पौडेलले जनप्रतिनिधिका रुपमा अघिल्लो आर्थिक वर्ष उलपब्धीमूलक रहेको उल्लेख गर्दै भावी योजना प्रस्तुत गर्नुभएको थियो ।पौडेलले आफ्नो नीति तथा कार्यक्रममा सेवा प्रवाह, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, पूर्वाधार, सहकारी, भूमी, न्याय, पर्यटनलगायत क्षेत्रलाई समेटनुभएको छ । उहाँले देशकै नमूना उपमहानगरपालिकाको रुपमा सवलीकरण गर्दै जीतपुरसिमरालाई सक्षम आत्मनिर्भर नगर बनाउने उदेश्य रहेको बताउनुभएको छ ।नगर प्रमुख पौडेलले स्वास्थ्य क्षेत्रतर्फ एक वडा एक एम्बुलेन्स सेवाको योजना कार्यान्यवन ल्याउने बताउनुभयो । यसैगरी परम्परागत र आयूर्वेद उपचार पद्धतिलाई प्रवद्र्धन गर्ने योजना उहाँले ल्याउनुभएको छ ।कृषि क्षेत्रमा युवा अवस्थाको उर्जालाई कृषी क्षेत्रमा व्यवसायीकरण गर्न स्वरोजगार बन्ने र बनाउने, कृषि उपज भण्डार गर्न शितभण्डार र खाद्यभण्डार निर्माण, कृषि प्रयोजनका लागि माटो परीक्षण प्रयोगशाला निर्माणको योजना आफ्नो कार्यक्रममा पौडेलले समेटनुभएको छ ।शिक्षा क्षेत्रमा एक विद्यालय एक बाल उद्यान, कक्षा ९ सम्मको प्रश्नपत्र उपमहानगरपालिकाले तयार गरी परीक्षा लिने, नगर शिक्षा कोषको थालनी, एक विद्यालय एक नर्स, एमबिबिएस, ईन्जियनियरिङ पढ्ने छात्रछात्रालाई छात्रवृत्तिको योजना राखिएको छ ।यसैगरी पूर्वाधारतर्फ उपभोक्ता समितिलाई निरुत्साहित गर्दै टोल विकास समितिमार्फत निर्माण कार्य गरिने, जीतपुरसिमरा ८ मा कृषि बजार, जीतपुर, सिमरा, नितनपुर र डुमरवानामा व्यापारिक भवन, पथलैया, अमलेखगञ्ज, वडा नं. ५ र वडा नं. २३ मा ट्रक तथा बस पार्किङ निर्माण गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।वन तथा वातावरणतर्फ एक घर दुई विरुवा, २० माइक्रोनभन्दा माथिको प्लास्ष्टिकको झोला विस्थापित, वडा र नगरको नेतृत्वमा फोहोर व्यवस्थापन, भूमितर्फ नगरभित्रका घरको आधुनिक प्रणालीमा अभिलेखीकरण, मालपोत र नापीलाई नगरपालिका अन्तर्गत ल्याउन पहल, स्थानीय सरकार संचालन ऐन बमोजिम जग्गाधनी पूजा वितरण, पर्यटनतर्फ जीतपुरसिमरालाई पर्यटन हब बनाउन विभिन्न कार्यक्रम ल्याइएको छ ।नगर प्रमुखले पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १९ जना नगरसभा सदस्यले सुझाव राखेका थिए । नगरसभा सदस्यको सुझावलाई समेटेर अघि बढ्ने बताउदै नगर प्रमुख पौडेलले असार १० गते बजेट सार्वजनिक गरिने बताउनुभाये । नगर प्रमुख पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केन्द्रीत रहेका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले बजेट सार्वजनिक गर्नुहुनेछ ।नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न सभामा नगर उपप्रमुख अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गर्नुभएको थियो ।



















