मनोज शाह
जीतपुर,बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा नगर प्रहरीको गम्भीर लापरबाही फेरि एकपटक सतहमा आएको छ । गएराति करिब १०ः३० बजे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ र १६ को सिमानामा पर्ने बलगंगा खोलाको छेउमा नगर प्रहरीको गाडी दुर्घटनामा परेको हो ।स्थानीय स्रोतका अनुसार गाडीका लागि आधिकारिक चालक नभएको अवस्थामा पनि नगर प्रहरीका सई रविनकुमार खड्काले आफैं गाडी चलाएका थिए । मोडमा पुगेपछि गाडीको नियन्त्रण गुम्दा नगर प्रहरीको गाडी आफैं पल्टिएको बताइएको छ ।
दुर्घटनामा नगर प्रहरी कृपा अधिकारीको हातमा, रिपु चौधरीको घुँडा र ढाडमा र श्यामकुमार थपलियाको छातीमा चोट लागेको छ ।तीनै जनालाई जीतपुरसिमरा नगर अस्पतालमा उपचार गरिएको थियो । अस्पतालका चिकित्सक डा. नवनित रौनियारका अनुसार, “हात, घुँडा र छातीमा चोट लागेको भए पनि सबैको अवस्था सामान्य थियो ।” उपचारपछि तीनै जना घर फर्किसकेका छन् ।तर स्थानीयवासीहरूले घटनालाई नगर प्रहरीको घोर लापरबाही र गैरजिम्मेवारी भन्दै कडा आक्रोश व्यक्त गरेका छन् । “चालक नभएको अवस्थामा चालक बोलाउनुपर्ने थियो, तर सईले आफैं गाडी चलाएर तीन जनाको ज्यान जोखिममा पारियो,” स्थानीयको भनाइ छ ।
यस विषयमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलसँग बुझ्दा उहाँले, “घटनाबारे जानकारी छ, हामी अनुसन्धान गर्दैछौं,” भन्ने प्रतिक्रिया दिनुभएको छ ।स्थानीय रमेश चौधरीले भन्नुभयो, “रातभरि गाडी दौडाउनु राम्रो कुरा होला, तर के अहिलेसम्म खोलाबाट अवैध रूपमा बालुवा–गिटी निकाल्ने एउटा पनि गाडी समातेर सार्वजनिक गरिएको छ ?”घटनाले नगर प्रहरीको कार्यशैली, प्राथमिकता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।


















