निजगढ,निजगढको तामागढीस्थित पुर्वपश्चिम राजमार्गमा यात्रु बस दुर्घटना हुँदा शुक्रवार दिउसो ३ जना घाइते भएका छन ।
भैरहवाबाट जनकपुरतर्फ जादै गरेको प्रदेश १–०२–००१ ख ९०११ नम्बरको बस दिउसो ४ बजे आफै अनियन्त्रित भइ पल्टिदा सडक छेउमा बसेकी कोल्हबी नगरपालिका वडा नम्बर २ काँटागाउँका सोनाम तामाङको श्रीमती अन्दाजी वर्ष १९ की अनु तामाङ, निजको छोरी वर्ष २ की पेम्बाकुमारी तामाङ र जीतपुरसिमरा १६ टाँगियाबस्ती बस्ने अन्दाजी बर्ष २८ का भुपेन्द्र वाईबा घाइते भएका हुन ।
तामाङ्ग छोरीसहित कोल्हबी जाने टेम्पुको प्रतिक्षामा सडक किनारामा उभिएकी थिइन भने वाईवा आफ्नो ना.६५ प.५७८९ नम्बरको मोटरसाइक रोकेर सडक किनारामा बसेका थिए ।घाइते तिनै जनाको सिटी अस्पताल निजगढमा सामान्य उपचारपछि थप उपचारको लागि बयोधा अस्पताल वीरगञ्जमा पठाइएको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।
दुर्घटनामा परेको बसका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । सडकबाट खसेको बस तामागढीको पश्चिमतर्फ कृष्णबहादुर बुढामगरको बन्द अवस्थामा रहेको चियापसलमा ठोक्किन पुगेको थियो ।बसको ठक्करबाट चिया पसलमा समेत क्षति पुगेको निरीक्षक कुशवाहाले जानकारी दिनुभयो । प्रहरीले बस चालक सिरहा गोलबजार नगरपालिका १३ दुर्गा टोल घर भएका बर्ष ४५ का हेमनारायण थिङलाई नियन्त्रणमा लिएको छ ।


















