निजगढ,निजगढ नगरपालिकाले नगरभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न १० बुँदे प्रतिबद्धता जनाएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले स्थानीय सञ्चारकर्मीहरुबीच नगरपालिका कार्यालयमा बुधवार आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख सुरेश कुमार खनालले नगरपालिकाले जारी गरेको प्रतिवद्धतापत्र बाचन गरेर सुनाउनुभएको थियो । नगरप्रमुख खनाल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले हस्ताक्षर गरेको प्रतिवद्धता पत्रमा नगरपालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारीहरुले बुधवारबाट नै सुर्तीजन्य पदार्थ सेवन त्याग्ने प्रतिज्ञा गरेका छन् । प्रतिवद्धता पत्रमा नगरपालिकाभित्रका सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ निषेध गरिने, निजगढलाई सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गर्ने पनि भनिएको छ ।
त्यसैगरी इजाजतबिना नगरमा सुर्तिजन्य पदार्थ बेचबिखन गर्न नपाइने र सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि नगरभित्र व्यापक अभियान संचालन गर्ने पनि प्रतिवद्धता पत्रमा उल्लेख छ । पत्रमा नगरका सबै सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गरिने र यसको नियन्त्रण र नियमनको लागि नगरपालिकाले अध्ययन तथा अनुसन्धान गर्दै जाने, सुर्तीजन्य पदार्थको लत छुटाउन परामर्श सेवा उपलब्ध गराउने र सरोकारवाला आमा समुह, शिक्षक, पत्रकार, युवा क्लब, टोलविकास संस्थाहरुसंग अन्तरक्रिया र छलफल चलाउने पनि भनिएको छ ।
यसअघि राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले नगरपालिकाका जनप्रतिनिधिहरुसंग पनि बुधवार बिहान अन्तृक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । केन्द्रका निर्देशक सुनिलराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख खनाल, प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की, पत्रकार गोकुल घोरसाइने, जीतलाल श्रेष्ठले पनि सुर्तीजन्य पदार्थ नियन्त्रणको बारेमा बोल्नुभएको थियो ।